कास्की- नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जितेका छन्।
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद रु. दुई लाख तथा ट्रफी प्राप्त गरे। यसैगरी, द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाका धावकहरुले प्राप्त गरे।
सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी रु. एक लाख पुरस्कार प्राप्त गरे भने देवीराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थानको पुरस्कार रु. ७५ हजार प्राप्त गरे। पाँचथरका प्रदीप तामाङले दुई घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थानसहित रु. २५ हजार पुरस्कार तथा ट्रफी प्राप्त गरे।
यस वर्ष पहिलोपटक पोखरा म्याराथनमा महिलाका लागि २१ किमीको हाफ म्याराथन समावेश गरिएकामा नेपाल प्रहरीका राजपुरा पछाईँले हाफ म्याराथनको उपाधि जित्न जितिन्। निर्धारित दूरी एक घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गरी उनले रु एक लाख र ट्रफी प्राप्त गरिन्।
यसैगरी, जुम्लाका राममाया बुढाले एक घण्टा ३० मिनेट पाँच सेकेण्डमा दौड पूरा गरी द्वितीय भई रु. ७५ हजार पुरस्कार प्राप्त गरिन्। सशस्त्र प्रहरी बलका ब्रिन्दा श्रेष्ठले एक घण्टा ३१ मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गरिन्। उनले रु. ५० हजार पुरस्कार प्राप्त गरिन्।
नेपाल प्रहरीका रेखा विष्टले एक घण्टा ३६ मिनेट दुई सेकेण्डमा हाफ म्याराथन पूरा गरी सान्त्वना स्थान प्राप्त गरेर रु. १५ हजार पुरस्कार पाइन्।
पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन बजारका विभिन्न क्षेत्र पुगेर रङ्गशालामा आएर समापन भएको थियो। म्याराथनमा २०९ र महिलाको हाफ म्याराथननमा २९ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ। गत संस्करणको उपाधि जापानका खेलाडीले जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।