काठमडौं- नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पराजित भएको छ। शुक्रबार भएको प्रि-क्वार्टर फाइनलमा रत्नजित सेनाकै हिमाल चन्दसँग पराजित भएका हुन्।
प्रतियोगितामा सहभागिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट बोकेका रत्नजित २१-१६, १३-२१ र १२-२१ को सेटमा पराजित भएका हुन्। पराजित भएपछि भने रत्नजितले पुरुष युगलको स्पर्धालाई आफूले मध्यनजर राख्दै पुरुष एकलमा जोड नदिएको बताए।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको क्वार्टर फाइनल प्रवेश गर्ने अन्य खेलाडीहरुमा एपिएफका प्रिन्स दाहाल, भोजपुरका विकास श्रेष्ठ, आर्मीका प्रफुल महर्जन र नविन श्रेष्ठ, धादिङका सुदीप सेढाई, आर्मी रुकेश महर्जन र एपिएफका दीपेश धामी छन्।
यू-१७ ब्वाइजतर्फ आर्मीका भोज बहादुर गुरुङ, दाङका हिमांशु कवार मगर, कपिलवस्तुका रोहित बराल, आर्मीका आयुष्मान नागरी, दाङका सुरज गुप्ता, आर्मीका हिमाल चन्द, कञ्चनपुरका बिवेक चौधरी र सुर्खेतका नरेन्द बमले पनि अन्तिम आठमा स्थान बनाएका छन्।
राष्ट्रिय वरीयताको २० देखि बाहेकका खेलाडीहरुको पुरुष युगल तर्फका खेलमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
त्यस्तै साइनो र जेस्ट ब्याडमिन्टन एकेडेमीका राम बानियाँ र इन्द्र महताको जोडी, एपिएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडी, कास्कीका भूगोल गुरुङ र विशाल खड्का, एपिएफका प्रियांशु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडी, साइनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा सेनाका भोज बहादुर गुरुङ र दिवस शंकरको जोडी पनि क्वार्टरफाइनल प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।