काठमाडौं- त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन्।
रत्नजितले नवलपरासीका रोशन कुमाललाई २१–१४, २१–१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१–५, २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्। रत्न र प्रिन्सले भोलि हुने प्रि–क्वार्टरफाइनलमा जित निकालेमा क्वार्टरफाइनलमा यी दुबै खेलाडी एक अर्काबीच प्रतिस्पर्धा गर्ने छन्।
रत्नजितमाथि लगातार दुई प्रतियोगितामा जित निकालेर उपाधि जितेका प्रिन्स यस प्रतियोगितामा पनि एच्च मनोबलका साथ खेलिरहेका छन्। यता, प्रतियोगिताका लागि तयारी गर्ने क्रममा प्रशिक्षण दौरान खुट्टामा चोट बोकेका रत्नजित भने उच्च लयमा छैनन्।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा स्थान बनाउनेमा एपिएफका दिपेश धामी, भोजपुरका विकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ रहेका छन्। दिपेशले कैलालीका देवराज रानालाई २१–१६, २१–८ ले, विकासले सेनाका आयुष्मान नागरीलाई २१–१३, २१–९ ले र नविनले एनआरएनए दुबईका साहिल चन्दलाई २१–११ र २१–१० ले पराजित गरे।
सेनाका हिमाल चन्द, एपिएफका प्रियान्सु सिंह क्षेत्री, साईनोका अभिषेक बोस, सेनाका प्रफुल महर्जन, बाँकेका इरफान अन्सारी, सेनाका दिवस शंकर, धादिङका सुदीप सेढाईं पनि अन्तिम १६ मा पुगेका छन्। त्यसैगरी, सेनाका रुकेश महर्जन, एपिएफका गौतम कठायत, बुटवल ब्याडमिन्टनका सुशिल गिरी, सुर्खेतका नरेन्द्र बम पनि प्रतियोगितामा जित निकाल्दै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
चन्दले परासीका डोलराज मगरलाई २१–८, २१–१७, क्षेत्रीले रामनगरका दिपेन्द्र चेपाङबाट वाक ओभर, बोसले आफ्नै क्लबका सुजन थापालाई २१–१६, २१–१५, महर्जनले चन्द्रगढीका अखिल श्रेष्ठलाई २१–१३, २१–१९ पराजित गरे। अन्सारीले धन्वन्तरीका ककेश सत्यालबाट वाक ओभर, बमले एपिएफका सुमन लिम्बुलाई २२–२०, १९–२१ र २१–१९, शंकरले सुनसरी ब्याडमिन्टन एकेडेमीका दिवल लिम्बुलाई २१–११, २१–१०, सेढाईंले बाराका रामकृष्ण श्रेष्ठलाई २१–११, २१–१५, रुकेशले बाँकेका विलाल वार्सीलाई २१–१२ को समान अन्तरले, कठायतले सेनाका गोकुल जोरालाई २१–१३, २१–११ र गिरीले रुपन्देहीका प्रतिक अर्याललाई २१–२३, २१–११, २१–११ ले पराजित गरे।
महिला एकलको प्रतिस्पर्धामा एपिएफकी जेशिका गुरुङ नेपाल नम्बर एक भोजपुरकी नङ्सलदेवी तामाङलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेकी छिन्। जेशिकाले नङ्सलमाथि २१–१४, २१–१३ को समान अन्तरले पराजित गरिन्। अन्तिम आठमा स्थान बनाउने क्रममा एपिएफकी प्रयाक्षी राईले चन्द्रागिरीकी मनिषा खड्कालाई २२–२०, २१–१५ ले, सेनाकी अनुमाया राईले एपिएफकी शोभा गौचनलाई २१–१३, २१–११ ले, कैलालीकी प्राथना देउवाले कैलालीकै प्रियान्सी बमलाई २१–५, २१–६ ले पराजित गरिन्।
सुनसरी ब्याडमिन्टन एकेडेमीका शिमा राजवंंशीले बुटवल ब्याडमिन्टन क्लबकी पुजा बिष्टलाई २१–१०, २१–७, सेनाकी रशिला महर्जनले सूर्यदर्शनकी रिया डंगोलबाट वाकओभर, एपिएफकी सुनयना मुखियाले बाँकेकी समिक्षा न्यौपानेलाई २१–६ को समान अन्तरमा र सेनाकी अमिता गिरीले एनआरएनकी सानिया चन्दलाई २१–१६, २१–१२ ले पराजित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।