काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको युवा संगठन, राष्ट्रिय युवा संघको नयाँ नेतृत्व चयनमा विवाद भएको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षीय युवाले बहिष्कार गरेको केन्द्रीय कमिटी बैठकले बचनबहादुर सिंहलाई अध्यक्ष बनाएपछि विवाद सतहमा आएको हो।
आइतबार र सोमबार भएको दोश्रो पूर्ण बैठकले सिंहलाई अध्यक्ष चयन गर्ने तयारी गरेपछि बादल पक्षका युवाहरुले भेला बहिष्कार गरेका थिए। बादल समूहका युवाले नयाँ नेतृत्वमा ४० प्रतिशतको दाबी गरेका थिए। ओली पक्षले ४ प्रतिशत पनि हिस्सेदारी नयाँ कार्यसमितिमा नदिने भनेपछि विवाद चर्किएको थियो।
बादल पक्षका युवा नेता विरु तामाङ ‘सुदिप’ले नेपाल लाइभसँग भने, ‘पार्टीसँग सरोकार नै नराखी एकपक्षीय भेलाबाट चयन भएको नेतृत्व हामी मान्दैनौं। भेला नै अवैधानिक हो।’
भेलामा विवाद बढ्दै गएर चर्काचर्की हुँदा झडप समेत भएको थियो। ‘ओली पक्षकै युवाबीच विवाद छ। उनीहरुमै तीन गुट छन्। उनीहरु भित्र नै नेतृत्व स्विकरिएको छैन’, तामाङले भने, ‘यसरी बनाइएको अवैधानिक कमिटीले कसरी मान्यता पाउँछ? पहिले पार्टीमा सहमति बनेपछि आधिकारिता टुंगो लाग्छ। यो अवैध नेतृत्व हामी मान्दैनौं ।’
गृहमन्त्री बादल निकट तामाङले आफू भन्दा जुनियरलाई अध्यक्ष चयन गरिएकोप्रति आपत्ति जनाएका छन्। अध्यक्ष चुनिएका सिंहलाई जेठसम्मको कार्यकाल तोकिएको छ। एकलौटी ढंगले ओलीपक्ष अघि बढेको आरोप लामा पक्षको छ। एक पक्षीय कमिटी बन्ने भएपछि लामा पक्षका युवाहरू हल छोडेर निस्किएका थिए।
जनवर्गीय संगठनका इन्चार्ज टोपबहादुर रायमाझीले पनि नयाँ नेतृत्वका सन्दर्भमा पार्टीमा छलफल नभएको बताएका छन्। दुई नेकपाको एकीकृत अवस्थामा युवासंघको केन्द्रीय कमिटी ३३५ सदस्यीय थियो। त्यसमध्ये साविक युवा संघबाट १७८ र वाइसिएलबाट १५७ जनाले प्रतिनिधित्व गरेका थिए।
अहिले ओली-बादल पक्षमा ११३ जना मात्रै भएको प्रचण्ड–माधव नेकपा निकट युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए। उनले आफूहरूसँग २०५ जना रहेको दाबी गरे। १७ जना भने कुनै पक्षमा खुलेका छैनन्। अहिले ओली-बादल पक्षले मनोनित नयाँ कार्यसमितिमा जम्बो टोली बनाइएको छ।
संघमा ५८ सदस्यीय पदाधिकारी बनाइएकोमा एक अध्यक्ष, एक सह-अध्यक्ष, एक महासचिव, २ उपमहासचिव, एक कोषाध्यक्ष, २ सह-कोषाध्यक्ष १३ उपाध्यक्ष र ३७ सचिव बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।