काठमाडौं- राजन गुरुङले प्रथम चक्र लामा/किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा पहिलो खेल जितेका छन्। बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा राजनले प्रभास मगरलाई ३-२ ले पराजित गरेका हुन्।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा राजन लामाले कमल लामालाई ३-२, नरेश कर्माचार्यले विप्लव भण्डारीलाई ३-१, कृतेश ज्ञवालीले प्रशान्त वज्राचार्यलाई ३-१, निश्चलले कान्छालाल वाइबालाई ३-०, बले लिम्बूले अभिमन्यु धिमाललाई ३-२, राजकुमार तामाङले सुशान्त श्रेष्ठलाई ३-१ र मन्दिप कटुवालले राकेश श्रेष्ठलाई ३-१ ले हराए।
पुरस्कार राशी र खेलाडी सहभागिताका हिसाबले प्रतियोगिता नेपाली स्नुकर इतिहासकै सर्वाधिक ठूलो मानिएको छ। प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी छन्।
प्रतियोगितामा सर्वाधिक १ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार प्रदान गरिने छ। सेन्चुरी ब्रेककर्तालाई २ लाख १ हजार तथा सर्वाधिक ब्रेककर्तालाई २१ हजार ५ सय नगद पुरस्कार दिइने छ। उत्कृष्ट खेलाडीले ११ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्।
विजेताले २ लाख ११ हजार ५ सय तथा उपविजेताले ९० हजार नगद पुरस्कार पाउने छन्। तेश्रो हुने दुई खेलाडीले ३० हजार तथा क्वाटरफाइनलिस्ट चार जनालाई जनही १० हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ। प्रिक्वाटरफाइनलिस्टलाई गिफ्ट ह्याम्पर स्वरुप किउ र किउ बक्स प्रदान गरिने आयोजनकले जनाएका छन्।
त्यस्तै उदीयमान खेलाडी तथा अनुशासित खेलाडीलाई ११ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।