बर्मा- म्यानमारमा भएको सैन्य ‘कू’विरूद्ध सडकमा उत्रिएका प्रदर्शनकारीलाई संयमता अपनाउन सेनाले आग्रह गरेको छ। देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारी सेनाले जनाएको छ।
सेनाका तर्फबाट सोमबार जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सोमबार पनि देशभरी शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन भइरहेका छन्।
म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ। प्रदर्शनकारीहरूले स्टेट काउन्सीलर तथा प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।
म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो।
सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ निर्वाचन गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ।
गत नोभेम्बरमा भएको निर्वाचनपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो। त्यही असन्तुष्टिकै बहानामा सेनाले सत्ता लिएकोप्रति धेरै तिरबाट विरोध भइरहेको छ।
सेनाले राजनीतिक हस्तक्षेप गरेपछि शुरु भएको विरोध प्रदर्शनमा दिनप्रतिदिन सहभागिता पनि बढ्दै गइरहेको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।