काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सरकारको तर्फबाट बहस गरिरहेका अधिवक्तालाई न्यायाधीशले परस्पर बाझिने कुरा किन गरेको भनेर प्रश्न सोधेका छन्।
बहसका क्रममा सोमबार न्यायाधीश अनीलकुमार सिन्हाले सोधे, 'सरकारलाई काम गर्न दिइएन पनि भन्ने अनि, सरकारले यो–यो काम गर्यो भनेर लामो सूची पनि पेश गर्ने, यो विषय परस्पर बाझिएन र?'
वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले सरकारलाई काम गर्न नदिइएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको दाबी गरेपछि न्यायाधीश सिन्हाले यस्तो प्रश्न गरेका हुन्।
‘सरकारले यो-यो काम गर्यो भनेर बिहान बहसमा लामै सूची पेश गर्नुभएको थियो। अनि, कामै गर्न दिइएको छैन भन्न मिल्छ र?’, न्यायाधीश सिन्हाले सोधे, ‘काम पनि भएको भन्ने, अनि काम गर्न पनि नदिइएको भन्ने कुरा परस्पर बाझिएन र?’
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई काम गर्न नदिइएका कारण प्रतिनिधि सभा विघटन गरेको सार्वजनिक रूपमै भन्ने गरेका छन्। उनै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा धेरै काम र विकास गरेको दाबी पनि गर्ने गरेका छन्।
प्रधानमन्त्री ओलीले जस्तै उनको पक्षमा सर्वोच्चमा बहस गर्ने अधिवक्ताले पनि विरोधाभाषपूर्ण तर्क गरेपछि न्यायाधीशले प्रश्न सोधेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।