काठमाडौं- सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा म्यानमारमा प्रदर्शन बढ्दै गएको छ। शनिबार सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्विटर बन्द गरिएपछि आइतबारदेखि प्रदर्शन झन बाक्लिँदै गएको छ।
सेनाको कदमविरुद्ध रगुन शहरमा ४० जनाबाट शुरु भएको जुलुस हजारौंको उपस्थितिमा परिणत भएको पत्रकार दीपक भट्टराईले बताएका छन्। उनका अनुसार जुलुसमा सहभागी हुनेको संख्या बढ्दै गइरहेको छ। प्रदर्शन शान्तिपूर्ण नै भइरहेको छ। सुरक्षाकर्मी र आन्दोलनकारी दुवै संयमित देखिएका उनले बताएका छन्।
शनिबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएर सैन्य ‘कू’ को विरोध गरेका थिए। सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा आमनागरिक दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेका छन्।
प्रदर्शनकारीहरूले सैन्य शासनको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गर्ने गरेका छन्। म्यानमारमा सेनाले निर्वाचित संसदलाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ। दङ्गा प्रहरीहरूले याङ्गुनलगायतका सहरको मुख्य चोक तथा सडकहरूमा धरपकड बढाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।