धरान- सुनसरीका किरण लिम्बु तेस्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन भएका छन्। २.५ कि.मि. दौड, १० कि.मि. साइक्लिङ र १.३ किमि दौड ३५ मिनट ३४.४१ सेकेन्डमा पूरा गर्दै लिम्बु च्याम्पियन भएका हुन्।
लिम्बुले पूरा गरेको समय अहिलेसम्मको सबैभन्दा छोटो समय हो। पहिलो संस्करणमा सुरेश भुजेलले ३५ः४० मिनटमा र दोश्रो संस्करणमा अच्युत कृष्ण खरेल ३७ः२७ सेकेन्डमा दुरी पूरा गर्दै च्याम्पियन बनेका थिए। महिलातर्फ भने अनिशा गुरुङले ४३ः५४ मिनटको छोटो समय कायम राखेकी छिन्। उनले पहिलो संस्करणमा उक्त समयमा निर्धारित दुरी पूरा गरेकी थिइन्।
नेपाल ट्रायाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा भएको सिरिजमा महिलातर्फ विदिशा चौधरीले निर्धारित दुरी ४९ मिनट ५२.४१ सेकेन्डमा पूरा गर्दै च्याम्पियन भइन्। दुई मात्र खेलाडीले सहभागिता जनाएको महिलाको प्रतिस्पर्धामा अर्की खेलाडीले निर्धारित दुरी पूरा गर्न नसकी बिचमै प्रतिस्पर्धा त्यागेपछि चौधरी च्याम्पियनको हकदार बनेकी थिइन्।
लिम्बु र चौधरीले किङ्स लञ्जद्वारा प्रायोजित ३ हजार बराबरको भौचर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। ललितपुरको बज्रबाराही, झरुवारासीमा भएको च्याम्पियनसिपको पुरुष तर्फ सुरज कुमार पासवान दोश्रो र मौलिक महर्जन तेश्रो भए। पासवानले निर्धारित दुरी ४० मिनट ३२.९३ सेकेन्डमा र महर्जनले ४० मिनट ५६.८५ सेकेन्डमा पुरा गरे।
दोश्रो हुनेले पिएएन्सी (प्याङ्क) को तर्फबाट प्रदान गरिएको खेलाडीहरुले प्रयोग गर्ने सामाग्री प्राप्त गरे भने तेश्रो हुनेले टेरिज क्याफेसिनोको तर्फबाट प्रदान गरिएको ५ सय बराबरको भौचर प्राप्त गरे। यस्तै बिजयी सवैलाई प्याङ्कको तर्फबाट निशुल्क साईकल मर्मतको भौचर प्राप्त गरे।
विजयी खेलाडीहरुलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, इमराल्ड नेशनल स्कुलका प्रिन्सिपल जित क्षेत्री, समाजसेवी दीपक राज घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए।
खेलको माध्ययमबाट स्थानिय निकाय र संस्थाहरु संग समन्वय गरि स्थानियस्तरमा नव खेलाडी उत्पादन गर्ने र खेल समुदायको निर्माण गर्दै ट्राईयाथलन खेल तर्फ आकर्षित गर्ने उद्धेश्यले आयोजना गरिएको च्याम्पियनसिपको पहिलो संस्करण काठमाण्डौको पुरानो सहर टोखामा र दोश्रो संस्करण ऐतिहासिक सहर कीर्तिपुरमा आयोजना भइसकेको छ। तीन महिना सम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने च्याम्पियनसिपको चौथो संस्करण टोखामा र पाँचौ किर्तिपुरमा हुने छ। सिरिजको अन्तिम तथा छैटौं संस्करण उपत्यका बाहिर पोखरामा आयोजना हुने संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।