म्यानमार- म्यानमारमा सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्विटर बन्द गरिएको छ। सेनाले सोमबार गरेको ‘कू’को विरोधमा प्रदर्शन हुन थालेपछि सरकारले इन्टरनेट सेवा बन्द गराएको हो। निगरानी समूह नेब्लक्स इन्टरनेट अब्जरभेटरीका अनुसार म्यानमारमा इन्टरेनट सेवा झन्डै-झन्डै पूर्ण रुपमा अवरोध छ।
शनिबार हजारौँ मानिसहरू सडकमा उत्रिएर सैन्य 'कू'को विरोध गरेका छन्। आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको हो।
देशको मुख्य सहर याङ्गुनमा ठूलो सङ्ख्यामा उपस्थित नागरिकहरूले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजीसमेत गरेका छन्।
म्यानमारमा सेनाले निर्वाचित संसदलाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ। दङ्गा प्रहरीहरूले याङ्गुनलगायतका सहरको मुख्य भागहरूमा चोक तथा सडकहरूमा धरपकड बढाएको छ।
'हामी सैन्य तानाशाहबाट देश र जनतालाई स्वतन्त्र पार्न र आगामी पुस्ताको अधिकारका निम्ति लड्न आएका छौँ,' र्यालीमा सहभागी एक महिलाले बताइन्। म्यानमारमा अप्रजातान्त्रिक सोचलाई सदाका लागि अन्त्य गरी दीर्घकालीन शान्ति तथा सुव्यवस्था कायम गर्न सडकमा आएको अर्का एक प्रदर्शनकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।