काठमाडौं- नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वर्ल्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएको छ।
सातदोबाटोस्थित् टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्ब्रेचको जोडीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गर्दै पहिलो भए। अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष वरीयता प्राप्त खेलाडी हुन्।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्स फाइनलमा भने नेपाली जोडी चुके। भारतीय जोडी आर्यन लक्ष्मनन् र आर्यन शाहले नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीलाई २–६, ६–२ र १०–६ को सेटमा हराए।
पुरुष सिंगल्समा भारतका अमन दहिया र स्पेनका टोमस क्युसेडा पेरेज फाइनलमा पुगेका छन्। अमनले फ्रान्सका भेलेन्टिन फाउरेलाई ६–१ र ६–१ तथा टोमसले भारतका अग्रिया यादवलाई ६–४ र ६–२ ले पराजित गरे।
महिला सिंगल्समा बेल्जियमका मार्ते लाम्ब्रेज र रोमाने लन्ग्युभिल्लेले उपाधि भिडन्त पक्का गरेका छन्। मार्तेले अमेरिकाकी साइना देशपाण्डेलाई २–६, ६–१ र ६–३ तथा रोमानेले अमेरिकाकै रुतुजा छप्हल्करलाई ७–५ र ६–४ को सेटमा पराजित गरेका हुन्। सिंगल्स स्पर्धाको फाइनल शनिबार हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।