भियाना- विश्वभर बालबालिकाको अधिकारका लागि हजारौँ संघसंस्था रहेपनि उनीहरूको अधिकार संरक्षणमा अपेक्षाकृत सुधार ल्याउन नसकिएको बाल अधिकारका लागि कार्यरत राष्ट्रसंघीय निकायले बताएका छन्।
बितेको डेढ दशकमा विश्वभर बालबालिका तस्करी गर्ने क्रम तीन गुणाले वृद्धि भएको लागू औषध तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालयद्वारा हालै जारी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
राष्ट्रसंघको अध्ययनले सन् २०१८ मा १४८ वटा देशमा बालबालिकाको अवैध ओसारपसारका करिब ५० हजार घटनालाई सार्वजनिक गरेको छ तर वास्तविक सङ्ख्या योभन्दा अझ बढी हुनसक्ने बताइएको छ।
बालिकाहरूलाई मुख्यतः यौनशोषणका लागि र बालकहरूलाई बलपूर्वक श्रम गराउनका लागि तस्करी गर्ने गरिएको राष्ट्रसंघले जनाएको छ।
कोरोना भाइरस महामारीका कारण लाखौँ मानिस कामविहीन बन्न पुगेकाले र बालबालिकाहरू विद्यालय जान नपाइरहेकाले अवस्था झन् खराब हुनसक्ने प्रतिवेदनले औँल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।