काठमाडौं- गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक छेउबाट बृहत नागरिक आन्दोलनले ऐतिहासिक उत्पीडनप्रति आक्रोश व्यक्त गरेको छ। मंगलबार श्रेष्ठ र चन्दलाई गोली हानिएको स्थान शोभाभगवतीमा आयोजित विरोध कार्यक्रममा कविता, गीत र सम्बोधन मार्फत भाषा, लिंग, क्षेत्र लगायतप्रति राज्यले इतिहासदेखि गरेको उत्पीडन र शोषणको सम्झना गरिएको हो।
पत्रकार तथा बृहत नागरिक आन्दोलनका एकजना अगुवा नारायण वाग्लेले सिंहदरबार बनाउँदा तत्कालीन शासकले गरेको शोषणको चर्चा गरे। ‘हिजो सिंहदरबार कसले बनायो, त्यो माटो केले बनेको थियो? नेपाली जनताको चामल र मास घरघरबाट खोसेर ल्याएर बनाइएको थियो। र, ६ महिनासम्म पहाडमा अनिकाल पर्यो। भक्तपुर र काठमाडौंमा पनि अनिकाल पर्यो। हाम्रा बालबच्चाहरु कुपोषणका शिकार भए’, उनले भने।
उनले शासकहरुले कुन गलत रवैयाहरु लिए, कुन गलत काम गरे, कुन गतल नीति लिए भनेर एकएक हिसाब माग्नको लागि अब आफूहरुले फागुन ७ गते टुँडिखेलामा भेला हुनुपरेको र ७० वर्ष देखिको एकएक हिसाब माग्नुपर्ने अवस्था आएको बताए। उनले टुँडिखेलको काँडेतार हटाएर सभा गर्ने, नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गर्ने र नयाँ आन्दोलनको उभार निम्त्याउने बताए।
कार्यक्रममा सुजन आङ्दम्बे, अरुणदेव जोशी, उर्मिला गम्बा थारु, दुर्गालाल श्रेष्ठले क्रमशः याक्थुङ (लिम्बू), डोटेली, थारु र नेपाल भाषामा आफ्नो गीत कविता प्रस्तुत गरेका थिए। त्यसक्रममा उनीहरुले आफ्नो भाषा, भूगोल, संस्कृतिमाथि भएको विभेदको पनि स्मरण गरेका थिए।
‘म डोटेली भाषामा पनि सिनेमा बनाउन खोज्दैछु। मैले चलचित्र विकास बोर्डमा सिनेमा दर्ता गराउँदा डोटेली भनेर दर्ता गराउन पाइनँ। नेपाली भाषा भनेर गर्नुपर्यो भन्नुभयो। तर मैले नेपालीसँगै कोष्ठकमा डोटेली भनेर लेखेर दर्ता गराएँ’, उनले डोटेली भाषाको स्वतन्त्र मान्यतामा भएको अस्वीकार्यताप्रति असन्तुष्टि जनाए।
उनले १९९७ सालमा सहिद भएका चारमध्ये तीन जना सहिद काठमाडौं वरपरका भएका तर दशरथ चन्द भने सुदूरपश्चिको बैतडी जिल्लाका भएको स्मरण गराए। ‘त्यसबेलादेखि राजनीतिमा आफूलाई अब्बल बनाएका सुदूरपश्चिमेली जनता अहिलेसम्म आफ्नो आवाज केन्द्रलाई सुनाउन सकिरहेका छैनन्। भाषा संस्कृति सामाजिक इतिहास मौलिक ज्ञानको क्षेत्रमा अधिकांश नेपालचाहिँ अनभिज्ञ नै छ’, उनको भनाइ थियो।
अभियन्ता सन्तोष परियारले यहाँको सत्ता मात्रै नभई, इतिहास, भाषा र संस्कृति पनि प्रतिगमनकारी भएको बताए। उनले इतिहास जसले लेखिदियो, त्यही मात्रै पढ्नुपर्ने बाध्यता नभएको बताए। बरु इतिहासलाई नै पुनर्परिभाषित र पुनर्दृष्टि गर्नुपर्ने उनको भनाइ थियो।
‘यो देशको नागरिक को हो? यो देशको अनागरिक को हो? नागरिक कसरी बन्छ, अनागरिक कसरी बनाइन्छ। त्यो तपाईं हामी सामु छर्लंग छ’, परियारको आक्रोश थियो, ‘एउटा दलित भएर बाँचिरहँदाखेरी, बोलिरहँदाखेरी मलाई लाग्छ, मसँग पूर्ण नागरिकको हैसियत पनि छैन।’
उनले बृहत नागरिक आन्दोलन पुस ५ मा भएको असंवैधानिक कदमको विरुद्ध मात्रै नभई इतिहासमा भएका तमाम प्रतिगमन विरुद्धको प्रतिरोध भएको र जारी रहने बताए।
अध्येता कैलाश राईले दुर्गम क्षेत्रमा विकासले पनि उत्पीडित समुदायलाई नै विस्थापन गर्दै लगेको बताइन्। ‘विकास भनेर हामी लागिपरेका छौं। तर त्यसले विनाश नै निम्त्याइरहेको छ। दुर्गम क्षेत्रमा बाटो बनाउने कुरा गरौं। त्यसको विनाशले उत्पीडनमा रहेका समुदाय, जसको भूमि थोरै छ वा भूमिविहीन छ। उनीहरुलाई नै विस्थापन गर्दै लगिराखेको छ’, उनले भनिन्।
राममाया च्यामिनीको सम्झना
कार्यक्रममा पटकपटक चर्चा गरिएकी एक पात्र थिइन्, राममाया च्यामिनी। जो राणाले पक्राउ गरेका गंगालाल, दशरथ चन्द लगायतको सूचना सूत्र बनेकी थिइन्। लेखक राजेन्द्र महर्जनका अनुसार, नागरिक अधिकार समितिका जजसले आन्दोलन गरेका थिए। उनीहरुलाई सिंहदरबारभित्र आफ्नो तर्फबाट गोप्य सूचना आदानप्रदान गर्ने र परिवारका सदस्यलाई सूचना दिने कामहरुमा च्यामिनीको भूमिका रह्यो। ‘उनी सरसफाइ कर्मचारीको रुपमा काम गर्थिन्। साह्रै निम्न तहको कर्मचारीको रुपमा सिंहदरबारमा काम गर्थिन्। उनले गरेको गोप्य प्रतिरोध कम थिएन’, उनले भने।
परियारले पनि गंगालाल र दशरथको सुखदुःखमा च्यामिनीले साथ दिएको बताए। ‘उनले कुचो र बोरामा राणाहरुको तानाशाही व्यवस्था पनि बढारेकी थिइन्’, उनको भनाइ थियो।
त्यस्तै, कवि दुर्गालाल श्रेष्ठले पनि दशरथ चन्द र च्यामिनीको संवादलाई कवितामा ढालेर प्रस्तुत गरेका थिए। कार्यक्रममा श्रेष्ठ उपस्थित नभए पनि उनले वाचन गरेको कविता सुनाइएको थियो।
‘एकथोपा नै सही, तिम्रो आँशुले मेरो सहादतलाई फुलाउँछ। तिम्रो मायाले क्रान्तिको बाटोमा मुक्ति सुवास फैलाउँछ’, नेपाल भाषामा लिखित श्रेष्ठको कवितामा दशरथले राममायालाई गरेको सम्बोधनको एक अंश महर्जनले वाचन गरेका थिए।
दशरथ-गंगलालको गोली खाने इच्छा
विरोध प्रदर्शनमा शिल्पी थियटरको टोलीले ‘जनता जागेपछि’ नामक नाट्य प्रस्तुति गरेको थियो। जहाँ गंगालाल र दशरथलाई गोली हानी मार्नुअघिका केही महत्त्वपूर्ण संवाद र समयलाई नाटकमा अभिव्यक्त गरिएको थियो।
‘झुन्डिएर होइन। गोली थापेर मर्नुपर्छ बुझिस्’, दशरथ आफ्नो हुँकार प्रस्तुत गर्छन्। गंगालाल समर्थन जनाउँछन्- हजुरको कुरालाई म सम्मान गर्छु। त्यसै गरौं।
कर्णेल नर शमशेरलाई चन्दले उही हुँकार प्रस्तुत गर्छन्- तिम्रो महाराजलाई सुनाइदिनु, हामी झुन्डिएर होइन। वीरझैं गोली खाएर मर्न चाहन्छौं।
अन्ततः नर शमशेरले महाराजले इच्छा पूरा गरिदिएको बताउँछन्। अनि उनले गंगालाललाई अन्तिम इच्छा सोध्छन्। उनले स्नान गरेर मन्त्र जप गर्ने भएको बताउँछन्। त्यसपछि, दशरथलाई सोही जिज्ञासा राख्छन्। उनी थोरैबेर हाँस्छन् र दृढताका साथ जवाफ दिन्छन्- के तिम्रो महाराजले मेरो अन्तिम पूरा गर्न सक्छ? सक्छ भने, म राणा शासन अन्त्य भएको हेर्न चाहन्छु।
चन्द र श्रेष्ठलाई गोली हानिएसँगै नाटक सकियो, १०४ वर्ष चलेको कुशासनको अन्त्यको संघर्ष सम्झाएर, अन्य जुनसुकै कुशासनको पनि अन्त्य सुनिश्चित छ भन्ने सन्देश दिएर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।