काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको ‘जिन’मै जित्ने रहेको बताउँदै खेलकुद हार व्यहोर्नुलाई ‘नमिलेको अवस्था’को रूपमा टिप्पणी गरेका छन्। उनले कहिल्यै देश नहारेको र उपनिवेश नबनेको भन्दै यस्तो टिप्पणी गरेका हुन्।
लडाइँमा नहारेका नेपाललीले ‘डल्ला फ्याँक्ने (क्रिकेट)’मा हार्नुलाई संगति नमिलेको रूपमा अर्थ्याए। उनले भने, ‘हाम्रो देश कहिल्यै हारेन। उपनिवेश बनेन। हामीले लडाइँमा नहार्ने, डल्ला फ्याँक्नेमा (क्रिकेटमा) किन हार्ने?’
उनले नेपालीका पुर्खाले तोपसँग नहारेको तथा तोपलाई खुकुरीले जित्ने गरेको इतिहास सम्झिए। उनले थपे, ‘तोपसँग खुकुरीले जित्ने तर, खेलमा होर्ने। खेल भनेको एउटा भकुन्डो त हो नि। क्रिकेट भनेको डल्ला फाल्ने त हो नि। किन हार्ने ?’
उनले अभ्यास नपुगेका कारण बहादुर पुर्खाका सन्तान खेलकुदमा हारिरहेको पनि बताए। त्यसलाई पनि ठट्यौले शैलीमा भने, ‘बहादुर पुर्खाकै सन्तान भएपनि खेलकुदमा हारियो। राष्ट्रिय युद्ध जित्ने, एउटा कुस्ति हार्ने, एउटा कराँते, सितोरियो हार्ने, यो मिलिराख्या छैन। नमिलेको कुरा मिलाउने अभ्यासले हो। अभ्यास जित्ने तहमा उठाउन जरुरी छ।’
उनले यसका लागि सरकारले राम्रो प्रशिक्षक र पछिल्लो समय विकसित प्रविधिको व्यवस्था गर्ने आश्वासन दिएका छन्। उनको आश्वासन छ, ‘धेरै राम्रो ल्याउन नसकिएला। गच्छअनुसारको अपरिहार्य लागेको प्रविधि ल्याइन्छ। न्यूनतम आवश्यकता परिपूर्ति गर्न सरकार तयार छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।