काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २०७७ माघ २० गते ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली खेलाडी, प्रशिक्षक र खेलकर्मीमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने कार्यक्रम हुन लागेको हो। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउसो १ बजे हुने कार्यक्रममा नेपाली खेलकुदको विकास–विस्तार र समसमायिक विषयका बारेमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक, संघ–संस्था, कर्मचारीलगायत खेलकर्मीको उपस्थितिमा रहनेछ। त्यस्तै, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले नेपाली खेलकुद र भइरहेको कार्यबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेछन्।
राखेपले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली खेलकुदलाई सामान्य अवस्थामा फर्काउन खेलकुद अभिमुखीकरण अन्तरक्रिया कार्यक्रमद्वारा मेची–महाकाली जोड्ने प्रयास गरेको उल्लेख गरेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा खेलकुद अभिमूखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।