काठमाडौं- नेपाली भलिबलका प्रतिभा माली र इम बहादुर रानालाई ‘मनोरञ्जन रमण शर्मा अवार्ड’ बाट सम्मान गरिएको छ।
नेपाल भलिबल संघले नक्सालमा कार्यक्रम गर्दै राष्ट्रिय महिला भलिबलकी प्रतिभा माली र राष्ट्रिय पुरुष भलिबल टिमका कप्तान इम रानालाई ‘मनोरञ्जन रमण शर्मा अवार्ड’ दिइएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश कुमार सिलवाल र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रतिभा र इमलाई सम्मान गरे।
राष्ट्रिय टिमकी मुख्य खेलाडी प्रतिभालाई उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र गत वर्ष नेपालमा आयोजनामा भएको १३ औं दक्षिण एशियाली खेलकुदमा रजत पदक प्राप्त गर्दा गरेको उल्लेखनीय प्रदर्शनको मुल्यांकन गर्दै सम्मान गरिएको संघले जनाएको छ।
त्यस्तै कप्तान इमलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा गरेको उच्च प्रदर्शन तथा २०१७ मा मालदिभ्समा आयोजना भएको तेस्रो एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल प्रतियोगितामा नेपालले कास्य पदक पाउँदा गरेको प्रदर्शनलाई मुल्यांकन गर्दै सम्मान गरिएको हो।
सम्मानित खेलाडी द्वयले जनही नगद ३५ हजारसहित कदर पत्र र ट्रफी प्राप्त गरे। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले स्थापना गरेको १० लाखको अक्षय कोषबाट प्राप्त हुने रकमबाट भलिबलका महिला र पुरुष दुई खेलाडीलाई प्रत्येक वर्ष नेपाल भलिबल संघले सम्मान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।