काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नाम चलेका खेलाडी छायाँमा पर्दा केही युवा खेलाडीको प्रदर्शन भने उत्कृष्ट रह्यो। टिममै पर्न संघर्षरत केही खेलाडीले आफूलाई प्रमाणित गरे भने सिनियर खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो।
नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को प्रतिबन्धमा पर्दा नेपाली घरेलु प्रतियोगिता मरेर गयो। खेलाडीहरू 'बेवारिसे' भए। घरेलु प्रतियोगितालाई चलायमान राख्न र खेलाडीको अभिभावकत्व ग्रहण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन् २०१७ बाट प्रधानमन्त्री कप सुरु गर्यो।
आइसिसीको प्रतिबन्ध फुकुवा भएपछि पहिलो पटक प्रधानमन्त्री कपको आयोजना क्यानले माघ २ देखि १७ गतेसम्म मूलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा सम्पन्न गर्यो। प्रतियोगिता नहुनुभन्दा भएकै बेस भनी धेरथोर कमीकमजोरी भुल्ने हो भने खेलाडीले आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न पाए।
नाम चलेका केही र राष्ट्रिय टिमका सिनियर खेलाडीको नै प्रदर्शन प्रधानमन्त्री कपमा उत्कृष्ट रहेन। चोटका कारण लामो समय थला परेका र केही युवा खेलाडीको प्रदर्शन भने तारिफयोग्य नै रह्यो।
चाहे त्यो, गण्डकी प्रदेशका विशाल पौडेलको ह्याट्रिक विकेट होस्, या १५ वर्षीय अर्जुन कुमालको निडर ब्याटिङ। अझ सुनील धमला र विनोद भण्डारीको शतकले प्रतियोगितालाई थप रोचक बनायो। टिममै पर्न संघर्ष गरिरहेका पृथु बास्कोटाको उच्च प्रदर्शनले सबैको ध्यान तानेको हुनुपर्छ।
बदलासहितको उपाधि
प्रधानमन्त्री कपमा यसअघि पनि आर्मीलाई नै पराजित गर्दै एपिएफले उपाधि जितेको थियो। लगातार दुई पटक फाइनलमा पुगेर उपविजेता बनेको आर्मीले चौथो संस्करणमा भने एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि चुम्यो।
२१२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपिएफले ४१.३ ओभरमा सबै विकेटको क्षतिमा १७८ रन मात्र बनाउँदा उपाधि आर्मीको पोल्टामा पुग्यो। आशिफ शेखले अर्धशतक बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिदा एपिएफको उपाधि यात्रा समाप्त भएको थियो। आशिफले ६१, सन्दीप जोराले २९, शंकर रानाले २१, सुमित महर्जनले १९ र सुवास खकुरेलले १४ रन बनाए। बलिङतर्फ आर्मीका विक्रम सोब, जितेन्द्र मुखिया र शाहब आलमले समान ३–३ विकेट लिए।
५० ओभर खेल्न नसक्नु नै हारको मुख्य कारण भएको कप्तान शरद भेषवाकर बताउँछन्। कप्तान शरदले भने, ‘हामीले ५० ओभर खेल्न सकेनौं। हारको मुख्य कारण यही बन्यो। महत्वपूर्ण क्याचहरु छुट्यो। आर्मीले राम्रो खेल्यो।’
शीतले ओसिलो मैदानमा टस हारेसँगै ब्याटिङको निम्तो पाउँदा आर्मीले केही नयाँ प्रयोग गर्यो। यसअघि नवौं नम्बरमा ब्याटिङ गर्ने सुसन भारीलाई आर्मीले ओपनिङमा ल्याएको थियो। तर ३२ रनमा पहिलो विकेटको रुपमा सुसनलाई गुमाएको आर्मीले ठूलो स्कोर बनाउन सकेन। ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रनमै खुम्चिएको आर्मीका लागि हरि चौहानले अर्धशतकसहित ५८, राजेश पुलामी मगरले २८, शाहब आलमले अविजित २५ र लोकेश बमले १५ रन जोडे। बलिङतर्फ एपिएफका अविनाश बोहराले चार र किशोर महतोले दुई विकेट लिए।
दुवै टिमले नराम्रो खेल खेलेका बताएका आर्मीका कप्तान उपाधि जित्दा निकै दंग छन्। कुनै एक बेला एपिएफको पोल्टामा गइसकेको उपाधि आर्मीले जित्दा सन्दीप जोराको विकेट मुख्य ‘टर्निङ पोइन्ट’ बन्यो। यो कुरालाई कप्तान विनोद पनि स्वीकार्छन्।
‘हामीलाई सुरुमा ब्याटिङ गर्न सजिलो थिएन। त्यही भएर पनि सुसनलाई ओपनिङमा पठायौं। एकपछि अर्को विकेट गइरहेको थियो। फिनिसिङ पनि सोचे जस्तो भएन,’ कप्तान विनोद थप्छन्, ‘बलिङमा निकै राम्रो गर्यौँ। सन्दीप जोराको विकेट नै हाम्रो जितको आधार बन्यो।’
आधा पुरस्कार राशि
लगातार तीन संस्करणको उपाधि विजेता टिमले २० लाख नगद पाउँदा उपविजेताले १० लाख पाए। राखेपले गरेको प्रतियोगितामा राखिएको पुरस्कार राशिले खेलाडीलाई एक प्रकारको ऊर्जा नै पैदा गरेको थियो।
त्यसो त, प्रधानमन्त्री कपमा २० लाख रुपैयाँ पुरस्कार राशि राख्दा त्यो बेला भइरहेको चर्चित फ्रेन्चाइज लिगले पुरस्कारमा वृद्धि नै गर्नु परेको थियो। यसले पनि प्रतियोगिताको स्तरलाई बढाएको थियो।
चौथो संस्करणको प्रधानमन्त्री कप चलिरहेकै बेला ढिलो गरी क्यानले पुरस्कार राशि घटाएर आधा मात्र बनाएको छ। यसले खेलाडीमा थप ऊर्जा मिलेको छैन। क्यानको यस्तो निर्णयले राम्रो सन्देश पनि गएको छैन।
प्रतियोगिताको 'म्यान अफ द सिरिज' एपिएफका कमलसिंह ऐरी घोषित भए। उनले ५० हजार पाए। उत्कृष्ट ब्याट्सम्यान बागमती प्रदेशका पृथु बास्कोटा हुँदा उत्कृष्ट बलर आर्मीका शाहब आलम घोषित भए।
त्यस्तै, उदयीमान खेलाडीमा प्रदेश २ का विवेक कुमार यादव घोषित भए।
२ शतक, २९ अर्धशतक
प्रधानमन्त्री कपमा २ शतक बन्दा २९ अर्धशतक बन्यो। यो पटकको प्रधानमन्त्री कपमा पहिलो शतक आर्मीका कप्तान विनोद भण्डारीको बनाए। उनले गण्डकी प्रदेशविरुद्ध ७३ बलमा शतक बनाएका थिए। ७६ बलमा ९ चौका र ५ छक्का प्रहार गरेका विनोद १११ रनमा अविजित रहे।
त्यस्तै, अर्को शतक नेपाल पुलिसका सुनील धमलाले बनाए। सुनीलले लुम्बिनी प्रदेशविरुद्ध १०४ रन बनाएका थिए।
प्रतियोगितामा २९ अर्धशतक बन्दा एपिएफका आशिफ शेखले तीन अर्धशतक बनाए। उनले फाइनलमा आर्मीविरुद्ध ६१, गण्डकी प्रदेशविरुद्ध ७८ र प्रदेश १ विरुद्ध ५९ रन बनाए।
त्यस्तै, बागमतीका पृथु बास्कोटा, लुम्बिनीका सौरभ खनाल, प्रदेश २ का विबेक कुमार यादव, बागमति प्रदेशका आदिल खान र प्रदेश २ का हरिशंकर शाह समान २–२ अर्धशतक बनाए। राजेश पुलामी मगर, सुनिल धमला, सन्दीप जोरा, दिपेन्द्रसिंह ऐरी, अनिल मण्डल, सन्दीप राजाली, कुशल भुर्तेल, हेमन्त ओली, सन्जु दमाई, इशान पाण्डे, सिद्धान्त लोहनी, हिमांशु शाही, पवन सर्राफ, समीर कँडेल, हरि चौहान र विबेक मेहेताले अर्धशतक बनाए।
लयमा फर्किए पृथु
कुनै एक बेलाका उत्कृष्ट खेलाडी उमेर समूह हुँदै राष्ट्रिय टिममा समेत राम्रो छाप छोडे। नेपाली राष्ट्रिय क्रिकेट कप्तानी गर्न सक्ने खुबी भएको खेलाडीको रुपमा समेत हेरिएका पृथु एकाएक 'गायब' जस्तै बने।
चोटले लामो समय ग्रसित भएका पृथुले चौथो संस्करणको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरे। बागमती प्रदेशका पृथुले ५ खेलबाट २१५ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा रहे।
लय बाहिर रहेका पृथु आफूलाई प्रमाणित गर्न नै इखले खेलेका बताउँछन्। हुन पनि पृथुले यो सिजनमा २१५ रन बनाउँदा दुई अर्धशतक बनाए। सुदूरपश्चिम प्रदेशविरुद्ध ८४ रन बनाउँदा प्रदेश २ विरुद्ध ५३ रन जोडे। पुलिस क्लबविरुद्ध पनि उनले ४८ रन बनाए। यो उत्कृष्ट प्रदर्शनसँगै राष्ट्रिय टिममा स्थान बनाउने उनको सम्भावना बलियो भएको छ।
त्यस्तै, प्रतियोगितामा तीन अर्धशक बनाएका आशिफ शेख सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा रहे।
आशिफले पाँच खेलबाट २०६ रन जोडे। त्यस्तै, प्रतियोगितामा राजेश पुलामी मगरले २०४, सुनील धमलाले १९०, सौरभ खनालले १८२ र सन्दीप जोराले १८१ रन बनाए।
बलिङमा अविनाश
अविनाश टी-२० मा मात्रै हैन एकदिवसीय क्रिकेट खेलमा पनि उत्कृष्ट हुन् भन्ने कुरा उनले प्रमाणित गरेका छन्। उनले पाँच खेलबाट १४ विकेट लिए। एपिएफ फाइनलसम्म पुग्न अविनाशको पनि निकै ठूलो भूमिका छ।
राष्ट्रिय टिमका नियमित सदस्य अविनाशलाई विशेषगरी टी-२० क्रिकेटको लागि स्थान दिइँदै आएको थियो। तर ५० ओभरको प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी बने।
त्यस्तै, बागमती प्रदेशका गौतम केसीको बलिङ पनि उत्कृष्ट रह्यो। मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटबाट घरेलु प्रतियोगितामा देखिएका उनले त्यो सिजन एक खेल मात्रै खेलेका थिए। गौतम केसीले यो पटक पनि बागमती प्रदेशबाट मात्र तीन खेल खेल्ने अवसर पाए। तर यो तीन खेल नै उनलाई प्रमाणित गर्ने पर्याप्त खेल बन्यो।
उनले ३ खेलबाट ११ विकेट लिए। सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा उनी दोस्रो स्थानमा छन्। उनको किफायती बलिङमा विपक्षी खेलाडी सिकार बने। आर्मीविरुद्ध उनले एकै खेलमा पाँच विकेट लिएका थिए।
आर्मीका शाहब आलमले ५ खेलबाट १० विकेट लिँदा एपिएफका कमलसिंह ऐरी र बागमतीका रामनरेश गिरीले समान १०–१० विकेट लिए। त्यस्तै, भुवन कार्की र सुसन भारीले प्रतियोगितामा समान ९-९ विकेट लिए।
प्रधानमन्त्री कपमा केही नयाँ खेलाडीले लोभलाग्दो प्रदर्शन गर्दा निकै आश गरिएका खेलाडीको प्रदर्शन भने फितलो रह्यो। राष्ट्रिय टिमका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले ५ खेलबाट १०० रन बनाए। तर सोचे जस्तो प्रदर्शन उनको भएन। आर्मीविरुद्ध उनले बनाएको ४७ रन नै सर्वाधिक बन्यो।
शरद भेषवाकरकै कप्तानीमा एपिएफ टिम उविजेता बनेपनि उनको प्रदर्शन भने स्मरणीय रहेन। उनले ६ खेलबाट ७५ रन मात्रै बनाए। जहाँ उनको सर्वाधिक उच्च स्कोर २४ रन रह्यो। त्यस्तै, रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी लगायतका खेलाडीको प्रदर्शन त्यति राम्रो भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।