सिमकोट– हुम्लाकाे जिल्ला सदुमरकाुम सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी ३ जना घाइते भएका छन्।
स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत घाइते भएका हुन्।
आज बिहान करिब ६ः १० बजे सिम क्षेत्रमा घाँस काटिरहेका बेला अचानक जङ्गली भालुले उनीहरूलाई आक्रमण गरेकाे हाे। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताएअनुसार आक्रमणबाट लक्ष्य र उनकी श्रीमतीको टाउकामा चोट लागेकाे छ भने रजनीको खुट्टा र ढाडमा सामान्य चोट लागेकाे छ।
घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल जिल्ला अस्पताल सिमकोट पुर्याइएकाे उनले बताए। उनका अनुसार लक्ष्य र बाँचुको अवस्था भने गम्भीर छ भने रजनीको अवस्था खतरामुक्त छ।
स्थानीयका अनुसार हुम्लामा पछिल्ला केही महिनादेखि भालुको आक्रमणका घटना बढ्दै गएका छन्। सदरमुकाम सिमकोटमा भने भालुले आक्रमण गरेको यो पहिलो घटना हो। घाँस, दाउरा तथा खेतीपातीका लागि जाने ग्रामीण बस्तीका बासिन्दा जङ्गली जनावरको जोखिममा पर्ने गरेका छन्।
गाउँमा भालु प्रवेश गर्ने क्रम बढिरहेकाले स्थानीयलाई सतर्क भएर दैनिक कामकाज गर्न प्रहरी प्रमुख पोखरेलले आग्रह गरे। आगामी दिनमा वन कार्यालय र स्थानीय तहसँग समन्वय गरी जङ्गली जनावर नियन्त्रण तथा सुरक्षाका उपाय अपनाइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।