• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ८, २०८२ Sat, Oct 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

त्यो भीमसेन मीनार, यो ‘केपी टावर’

64x64
ऋग्वेद शर्मा शुक्रबार, माघ १६, २०७७  ११:४१
1140x725

काठमाडौं- आजभन्दा १९६ वर्ष पहिले मुख्तियार भीमसेन थापाले विशाल टुँडिखेल छेउमा मीनार बनाउँदा के कति काम र कस्तो मेहनत गर्नुपर्‍यो, स्पष्ट छैन। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको नामले चिनिएको उही भत्किएको मीनारछेउ व्यापारिक टावर बनाउँदा के गर्दैछन्, त्यो लोकले देखेको छ। 

भीमसेनको समय टोपी खस्ने अग्लो मीनारको उपयोगिता शासकीय तेज देखाउन मात्र थिएन। अंग्रेजका अघि कीर्ति देखाउने भीमसेन सोचको अग्लो मीनार अरु काममा पनि सहयोगी पक्कै भयो। तर, जयजयकारको समय सकिँदा उनै भीमसेनमाथि फरक प्रश्नहरू उठ्दै आए। समयक्रमको प्रतीक्षाबिना अहिले त शासकमाथि जयजयकार र प्रश्न सँगसँगै छन्। 

कीर्ति राख्ने रहर गर्न जति सजिलो छ, मौलिक रुपमा वर्षौंसम्म सम्मानित हुने गरी छाप छाड्न उति नै कठिन पनि। अझ ‘आफू सत्तामा रहेको पालो’का आधारमा जनताको पैसामा आफ्नो मात्र नाम बनाउने चाह भएका शासकलाई त थप मुस्किल नै। 

अंग्रेजको विस्तारवादी समयका मुख्तियार भीमसेन र अहिले सत्ता जोगाउन आफैभित्रै लडिरहेका प्रधानमन्त्री ओलीको तुलना मिल्दैन नै। तर, समयक्रममा यी दुई सत्ता सञ्चालकको उस्तै विषय के भने भीमसेनले एकै वर्षको फरकमा उस्तै मीनार नजिकै दुईवटा बनाएका थिए। अहिले ओलीले उस्तै टावर दुई वटै बनाउँदै छन्- काठमाडौंमा र झापामा। त्यही सिको गरेर ‘गाउँको सिंहदरबार’का अरु शासकहरूले आ-आफ्नो क्षेत्रमा पनि टावर ठड्याउँदैछन्। 

विषय धरहराको भए पनि सत्ता सञ्चालनको स्वरुप र नेताको मनोविज्ञान त्यसैमार्फत देखिन्छ। दुई फरक समयको शासकीय सत्ता बोधले छोपिएका नागरिकका आवाज पनि सँगसँगै बुझ्न सकिन्छ। भीमसेनमाथिको नजर फरक बनाउन सकिए पनि उनले खडा गरेको मीनार अहिले धरहराको रुपमा राष्ट्रिय सम्पदा हो। त्यो धुलिमाटी नै छाडेर छेवैमा अर्को टावर खडा गर्ने अहिलेको ‘सत्ता कीर्ति’ सम्पदा मासेर व्यापार र मनोरञ्जनका लागि मात्र छ। 

प्रधानमन्त्री ओलीले २०७२ को भूकम्पले ढलेका सम्पदाको पुनर्निर्माणमा धरहरालाई जत्तिको महत्व केहीलाई दिएनन्। तर, बाँकी सबै बनिरहँदा धरहरा नै बनाएनन्।

०००
भीमसेन थापाले आफ्नो दरबार नजिकै बिसं १८८१ मा पहिलो धरहरा बनाउन लगाए। त्यसमा रहेको अभिलेखमा यस्तो लेखिएको थियो- ‘स्वस्तिश्री शाके १७४६ सम्वत् १८८१ सालश्रावणकृष्णसप्तम्यां तिथौ रेवतिनक्षत्र शुक्रमयोग रविवासरे श्रीजनरल भीमसेन थापाले बनायाको धरहरा शुभम्।।’ (अभिलेख संग्रह १२)

Ncell 2
Ncell 2

त्यो समय भीमसेन थापा शक्तिशाली थिए। राजकाजको सम्पूर्ण जिम्मा उनैमा केन्द्रित थियो। राजा राजेन्द्र वीर विक्रम शाहलाई काखमा राखी महारानी ललित त्रिपुरासुन्दरीले राज्य चलाएकी थिइन्। जहाँ उनी पनि नाममात्रको शासक थिइन्। त्रिपुरासुन्दरी भीमसेन थापाका भाइ काजी नयनसिंह थापाकी छोरी भएकाले पनि उनीहरूको सम्बन्ध राजकाजमा भीमसेनलाई बढ्न सहज हुने वातावरण बनेको थियो।

त्यसैले हुनुपर्छ तत्कालीन समयको चलनभन्दा बाहिर रहेर ‘श्रीजनरल भीमसेन थापाले बनायाको धरहरा’ भनेर भीमसेनले आफ्नो मात्र नाम उल्लेख गरे। न त राजा राजेन्द्रविक्रमको नाम उल्लेख गरे न त अरु कुनै विषय लेखे। हुन पनि लिच्छविकालदेखिकै परम्परा हेर्दा शिलालेखमा तत्कालीन राजको नाम उल्लेख गरी फलाना राजाको ‘विजयराज्ये...’ इत्यादि लेखि आफ्नो नाम, थर राख्ने अभ्यास थियो। 

भीमसेन थापाको समयका दुई धरहरा।

त्यही कारण हुनुपर्छ दोस्रो धरहराको जन्म। पहिलो धरहरा बनेको एक वर्षपछि बिसं १८८२ चैतमा महारानी ललित त्रिपुरासुन्दरीदेवीले अर्को धरहरा बनाउन लगाइन्। त्यसमा लेखियो- ‘श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललितत्रिपुरसुन्दरीदेवीले यो धरहरा बनाउनुभै तयार गरी गजुर चह्राउनुभयाको हो शुभम्।’

त्रिपुरासुन्दरीले बनाउन लगाएको भन्ने लेखोट रहे पनि त्यसलाई भीमसेनकै धरहराको रुपमा उही समयदेखि बुझिँदै, बुझाउँदै आइयो। सत्ता सञ्चालनको केन्द्रमा उनै भीमसेन रहेकाले त्यसो भएको हुनुपर्छ। त्यो समयको इन्जिनियरिङको गजब नमूनामध्येको एक धरहराको अरु सबै विषय विस्तार हुन पाएन। त्यसैले अहिलेसम्म आइपुग्दा त्यसको निर्माण र कलापक्ष गौण भएर यत्तिमात्र थाहा भयो- ‘भीमसेन थापाले बनाएको धरहरा।’

त्यो शासकीय चमकका कारण नै भीमसेन थापाले दुई वटा धरहरा बनाउन सकेका थिए। ‘उनले १८८१ मा बनाएको पहिलो धरहराको उचाइ १२४ हात थियो। जहाँ दोस्रो, १८८२ मा बनाएको धरहराको उचाइ ९० हात थियो।’ (गौतमबज्र बज्राचार्य, हनुमान ढोका राजदरबार)

अंग्रेजको आँखाबाट भीमसेनको धरहरा जस्तो देखिए पनि त्यो समय उनका लागि अग्लो मीनार ठूलो कीर्ति थियो नै। उपत्यकामा नदेखिएको शैलीको निर्माणले धरहरा सबैको नजरमा पर्न सकेको थियो। पछिसम्म नै पनि काठमाडौं उपत्यका आउनेका लागि धरहरा विशेष स्थान छँदै नै थियो। 

त्यही धरहरालाई त्यो समय अंग्रेजहरुले भीमसेनको अहङ्कारका रुपमा लिएका थिए भन्ने लेखाइहरू अहिलेसम्म नै भेटिन्छन्। त्यसबेला बेलायतीका लागि भीमसेन थापा जोशिला, महत्वाकांक्षी, सिद्धान्तविहीन विपक्षी रहेको कुरा त्यसबेलाको बेलायती शक्ति बढाउन लागिपरेकालाई उद्धृत गर्दै नेपालबारे लेखेका इतिहासकार पर्सिभल ल्याण्डनले उल्लेख गरेका छन्। पर्सिभल उनै हुन् जसलाई चन्द्रशमशेरले इतिहास लेखाउन नेपाल बोलाएका थिए। पर्सिभलले उपत्यकाको धेरै तस्वीर धरहरामा नै चढेर लिएका थिए। 

अंग्रेजको आँखाबाट भीमसेनको धरहरा जस्तो देखिए पनि त्यो समय उनका लागि अग्लो मीनार ठूलो कीर्ति थियो नै। उपत्यकामा नदेखिएको शैलीको निर्माणले धरहरा सबैको नजरमा पर्न सकेको थियो। पछिसम्म नै पनि काठमाडौं उपत्यका आउनेका लागि धरहरा विशेष स्थान छँदै नै थियो। 

त्यसैको वर्णन भक्तिधाराकालीन (१८७२-१९४०)कवि यदुनाथ पोखर्‍यालले कवितामार्फत यसरी गरेका छन्,
कहरको त धरहर सहरका निकटमा
उँचाको त तारिफ बन्याको विकटमा
जहाँभित्र बाटो घूम्याको उपरमा
अरुले नजान्नू अकलमा सफरमा।। (पुराना कवि र कविता, बाबुराम आचार्य, २०३५)

यदुनाथको कवितामा जस्तै नेपाली साहित्यको आधुनिक समयसम्म पनि कविता, गीतमा धरहराको बिम्ब खुबै प्रयोग भए। तर समयसँगै एउटा धरहरा बिलाएरै गएको विषय भने गहिरोसँग इतिहास हेर्नेले मात्र थाहा पाए। 

भीमसेनको समयमा बनाइएका दुई धरहरामध्ये एउटालाई उपल्लो धरहरा र अर्कोलाई तल्लो धरहरा भन्ने गरिएको इतिहास अध्येताहरुले उल्लेख गरेका छन्। जहाँ ‘पहिलो धरहरा बनेको ९ वर्षपछि १८९० मा आएको भूकम्पले जिर्ण भएको थियो भने दोस्रो धरहरा १९९० को भूकम्पसम्म १०८ वर्ष उही स्थितिमा रहन सकेको पाइन्छ।’ (चित्तरञ्जन नेपाली, जनरल भीमसेन थापा र तत्कालीन नेपाल)  

१९९० को भूकम्पपछि बाँकी रहेको धरहरा पनि जिर्ण भएको थियो। त्यसलाई जुद्धशमशेरले बार्दलीसमेत थपेर पुनर्निर्माण गरे। त्यसको वर्णनमा यस्तो लेखिएको पाइन्छ, ‘सम्बत् १८८२ चैत्र सुदी १२ रोज ४ मा श्री श्री श्रीमल्ललितत्रिपुरसुन्दरी देवीबाट बनाइबक्सेको यो धरहरा विक्रम संवत् १९९० साल माघ २ गते (माघकृष्ण ३०) सोमबारको भीषण भूकम्पले भत्की बिग्री २ तलासम्म पुरानो बाँकी भएकोमा अरू तला उठाई बनाई श्री ३ महाराज जुद्धशमशेर जङ्गबहादुर राणाबाट विक्रम संवत् १९९२ सालमा जीर्णोद्धार गरिबक्सिएको।। शुभम्।।’

यसरी हेर्दा भीमसेन थापाले बनाएको धरहरा १८९० को भूकम्पमा नराम्रोसँग चर्किएर जिर्ण भएको थियो। १९९० सालमा फेरि अर्को ठूलो भूकम्प गयो। त्यसमा १८८१ मा निर्मित धरहरा नामेट भयो भने १८८२ मा निर्मित धरहराको पुछारको दुई तला बाँकी बसे। त्यसैलाई जुद्धशमशेरले १९९२ सालमा पुनर्निर्माण गरेका हुन्।

अंग्रेजबाट तराई छुटाएको उपलक्ष्यमा त्यसरी भिमसेनले मीनार बनाएको भन्ने बिषय शासकको भक्ति बाहेक तत्कालीन समयमा देखिएका घटनाको समष्टि जोड पनि हो। भीमसेन थापालाई ‘कमाण्डर इन चीफ’ दिएको लालमोहरमा माथि उल्लिखित विषय पाइने चित्तरञ्जनले उद्धृत गरेका छन्। 

भीमसेनको समयमा धरहरा निर्माण हुनुको कारण र त्यसको आवश्यकता इतिहासमा स्पष्ट देखिँदैन। इतिहासमा भएका घटनाका आधारमा जोडिएका फरक ब्याख्याहरू धेरै छन्। 

‘जनरल भिमसेन थापा र तत्कालीन नेपाल’ पुस्तकमा चित्तरञ्जन नेपाली लेख्छन्- 

‘उसबखतमा दुई चार जना भारापाँचले कबुल नगर्दा र गोल्दार सर्दार मोहडाका भारदारले अहङ्कार गर्दा तुल हुनगै लडायी जोडिएछ। त्यसबखतमा पनि तिमीले कनकातिष्ठा लगायेत सतरुद्रातक भारादार सिपाहि फौज अनाज बरोबर चाजामिलाई राख्याका रह्याछौ, मोहाडाका भारदारले झकमारी बखतको चाजासूर बिराइदिदा उठ्ठालागि सतरुडाको लस्कर महाकाली आई पुगेछ, तस्तैमा अँग्रेजले हरिहरपुरमा र मकवानपुरमा लस्कर चडाउँदा चुर्‍याको सरहदभया पनि ढेरै हो भनी सब भारा पाँचले ठहराउँदा तरिछुटी चुर्‍याका सरतहको अहद भइ तरि छुट्न जाँदा ढेरै नोकसान भयाको देखि त्यो तरिमा हाम्रा ढेरइ भारादारका खानगी छ, त्यो छुट्यो भन्या ढेर नोकसान हुनगयो भनी अंगरेज सँग उजुर गर्दा तरीको बदला २ लाख रुपैयाँ लार्डसाहेबको दस्खतले कंपनीका चरबाट आउन्ला भन्या अहद भै आउँदा तेसमा दुई लाख रुपैयाँ लिन्न भनी तिमिले अडी पछि गाडन्साहेबसित जवाप सवाल जुक्ति सिपारीस गरी तरी छुटाइ आफ्ना इलाका गरी फेरि सिवाना बाधि मीनारसमेत खडा भयाको रहेछ।’

अंग्रेजबाट तराई छुटाएको उपलक्ष्यमा त्यसरी भिमसेनले मीनार बनाएको भन्ने बिषय शासकको भक्ति बाहेक तत्कालीन समयमा देखिएका घटनाको समष्टि जोड पनि हो। भीमसेन थापालाई ‘कमाण्डर इन चीफ’ दिएको लालमोहरमा माथि उल्लिखित विषय पाइने चित्तरञ्जनले उद्धृत गरेका छन्। 

२०१३ सालमा योगी नरहरिनाथले प्रकाशित गरेको ‘देवमाला वंशावली’ मा भीमसेन थापाले धरहरा बनाउनुको कारण यस्तो उल्लेख गरिएको छ, ‘श्री कमाण्डर इन चीफ जनरेल भीमसेन थापाबाट देशी अंग्रेजहरू आउँदा इज्जत खातीर र दुष्टजन लाग्दा हेर्ना निमित्त आपतकालमा पल्टनहरू जम्मा गर्ना निमित्त बिकुली लाउना के समेत ठूलो परिश्रमले मजबुतसँग जग राखी बिक्रम सम्वत् १८८२ सालमा अति उचो धरहरा बनाई तयार गरी धन्ने कहलायो।’

आपतकालमा पल्टन जम्मा गर्न बिगुल लगाउने काम र अंग्रेजका अघि इज्जत देखाउन धरहरा बनाएको भन्ने विषय तत्कालीन समयको घटनाक्रमले सत्य प्रतित हुन्छ। टुँडिखेलमा पल्टन जम्मा पार्न र केही आपत विपत पर्दा सबैलाई सूचना दिन धरहरामा बिगुल लगाएर सूचना दिइने गरेको विषय इतिहासका अरु पानाहरुमा पनि उल्लेख भएकै विषय हो। 

यसैले त राष्ट्रकवि माधव घिमिरेले पनि लेखेका छन्,
नेपालीलाई डाक्ला बिगुल धरहराबाट कुर्ली कमाल
प्यारीले बाँधिदेलिन् झटपट खुकुरीलाई रातो रुमाल
रातो झण्डा उठाइ फरहर अगुवा वीर भर्लान् कमान
बाजाले ताल देलान् चल चल चल रे देशका नौजवान।।

०००
मल्लकालमा उज्यालिएको उपत्यकामा भीमसेनको धरहराले उपत्यकाबासी धेरैको आँखा बिझायो पनि। आजसम्म पनि धेरैले धरहराको स्वरुप माटो सुहाउँदो नभएको र शासकीय अहम्को बिम्ब बनेको भन्दै त्यसलाई आफ्नो सम्पदा नमान्ने आवाज निकालिरहेकै छन्। 

तर, समयको एक खण्डमा जुन रुपमा निर्माण भएको भए पनि राज्यको दमौडी परेको धरहरा अहिलेको समयसम्म गोलाकार उचाइको सुन्दर कालिगरी हुँदै हो। दुई शताब्दी पुग्नै लाग्दा हराएको धरहरा आगामी पुस्तासम्म पुर्‍याउनुपर्ने गजबको सम्पदा हो भन्नेमा अब विवाद उति ठीक पनि होइन।

१९९० को भूकम्पपछि दुई तला बचेको ११ तले धरहरालाई जुद्धशमशेरले बार्दलीसमेत थपेर ९ तलामा दुई वर्षमा पुनर्निर्माण गरे। तर, २०७२ को भूकम्पपछि एक तला बाँकी बसेको धरहरा अहिलेको समय पुनर्निर्माण गर्न ध्यान दिइएन। बरु त्यसैको छेउमा व्यापारिक झिल्के टावर बनाएर धरहरा नाम दिन खोजिँदै छ।

प्रधानमन्त्री ओलीले २०७२ फागुन ४ गते जनताको पैसाले धरहरा बनाउने घोषणा गरेका थिए। ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नारा केही दिन खुबै चल्यो। पैसा जम्मा गर्न पनि थालियो। त्यसलगत्तै नेपाल टेलिकमले धरहरा बनाउने रकम आफूहरुले खर्च गर्ने घोषणा गरेको थियो। 

२०७३ असार २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो। टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गर्‍यो। १३ रोपनीमा व्यावसायिक कम्प्लेक्स सहितको धरहरा निर्माणपछि ३० वर्षसम्म आफूले चलाउन पाउनुपर्ने टेलिकमको प्रस्ताव थियो।

टेलिकमले देखाएको इच्छा र टेलिकमलाई नै दिने प्रतिस्पर्धाले धेरै समय उसै खेर गयो। टेलिकमले नबनाउने भएपछि सरकारले धरहरा निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई दिएको हो। प्राधिकरणले २०७५ वैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो।

भूकम्प गएको तेस्रो वर्ष भइसक्दा पनि प्रधानमन्त्री ओलीले धरहराको भग्नावशेषछेउ उभिएर भनिरहेका थिए, ‘धरहरा हाम्रो मान हो, आन हो, स्वाभिमान हो।’ उनले २०७५ पुस १२ गते धरहराको शिलान्यास गरेका थिए।

प्रधानमन्त्रीको भनाइ र गराइ मेल खाएन। मौलिक संरचनामा धरहरा निर्माण गर्न छाडेर आधुनिक टावर बनाउने र पुरानो मौलिक धरहराको बचेको भागलाई संग्रहालयको रुपमा स्थापना गर्नेमा सरकार लाग्यो। ३ अर्ब ४५ करोड रुपैयाँमा जीआइइटीसी रमन जेभीले धरहराको नाममा व्यापारिक भ्यू टावर बनाउने ठेक्का लियो। 

जुन अब २२ तलाको बनिरहेको छ। त्यसमा शिरानमा पुरानै धरहराको गजुर राखिने र बाहिरी स्वरुप धरहराको जस्तै हुने हुनाले पर्यटकीय छनक भने धरहराकै दिनेछ। जहाँ एउटा भर्‍याङ र दुई वटा लिफ्ट हुनेछ। वरपर ४२ रोपनीको क्षेत्रफल ओगट्ने पार्कमा के मात्र हुने छैन?

सम्पदाको महत्व र त्यसको दीर्घजीवन विचार नगरी जे गर्न खोजिएको छ त्यो अन्त कतै बनाएर धरहरा भएको ठाउँमा धरहरा नै बनाउनुपर्ने आवाज कमजोर हुँदै गइरहेको छ। यसरी धरहराको स्वरुप मर्नुमा सम्पदा अभियन्तामा धरहराप्रतिको माया कम हुनुलाई पनि एकथरिले लिइरहेका छन्। 

‘सम्पदा बनाउने भएपछि ढिलो चाँडो सबै बनाउनुपर्ने हो नि। मुगल शैलीमा बनेको धरहराको कुनै पनि महत्व छैन भन्ने हिसाबले संस्कृति बुझेका भनिएका मान्छेले नै कुरा उठाए। बुझेका भनिएका मान्छेले त्यस्तो भन्न मिल्छ?’, भीमसेन थापाकालीन विषयमा खोजि गरिरहेका सुशिल विक्रम थापाले प्रश्न गरे। 

भीमसेन थापा प्रतिष्ठानको कोषाध्यक्षसमेत रहेका सुशिल भीमसेनको कान्छा भाइ रणविर सिंहका सन्तान हुन्। उनी अहिले धरहराको नाममा जे भइरहेको छ त्यसले कीर्ति मासेर राष्ट्रिय विभूतिको अपमान भइरहेको बताउँछन्। 

‘त्यो त धरहरा त हुँदै भएन नि। कसैको कीर्ति मास्ने काम भयो। कि त कुनै पनि सम्पदा बनाउन भएन, बन्ने हो भने त सबै बनाउनुपर्छ। धरहरामा त राष्ट्रिय विभूतिको अपमान भइरहेको छ’, उनी भन्छन्, ‘जुद्धसम्शेरले उबेलामा सक्ने, अहिले सरकारले नसक्ने भन्ने हुँदै होइन नि। कीर्ति मास्ने काम त देशमा एक किसिमको अराजकता पनि हो।’

सुशिलले जस्तै धरहराको पुरानो अवस्थिति मार्नु हुँदैन भन्नेहरु निकै छन्। तर सरकार भ्यू टावरमा नै रमाइरहेको छ। यस्तोमा त्यसलाई राष्ट्रिय सम्बृद्धिसँग जोडेर यसरी हेरिएको छ कि मानौँ, त्यही २२ तलामा धरहरा ठडिएपछि दैनन्दिनका कठीन समय सकिनेछन्। उपत्यकामा सम्पदाप्रतिको वेवास्ताको नमूना देखिइरहँदा पनि ‘धरहरा यति तला ढलान भयो’ भन्ने प्रचारवाजी चलिरहेकै छ। 

०००
अहिले धरहराको नाममा जहाँ टावर बनिरहेको छ, त्यो स्थान उपत्यकामा १५०० वर्षभन्दा अगाडिदेखि चलिआएको मानिने धार्मिक उपाकु यात्राको मूल बाटो हो। हुन त बाटो हो, यता नभए उताबाट हिँड्दा हुन्छ भन्ने आवाज उठ्ला, तर मूर्त अमूर्त सम्पदाको महत्व दैनिक जीवनमा यसरी जोडिएका हुन्छन् जसमा विकल्प खोज्दा सम्पदा मासिनेछन्। त्यसमा इतिहाससँग साँस्कृतिक महत्व यसरी जोडिएको हुन्छ जसलाई मास्नु परम्परा मास्नु हो। 

इन्द्रजात्राको सुरुको दिन उपाकु यात्रा गर्ने परम्परा रहिआएको छ। यो यात्रा मृत्यु संस्कारसँग जोडिन्छ। आफ्नो परिवारमा कसैको देहान्त हुँदा परिवारका सदस्यले इन्द्रजात्राको पहिलो दिन धुप बालेर, पालामा बत्तीहरू बालेर बाटो बाटोमा पाला राख्दै यो यात्रा गर्छन्। यसमा हिन्दु र बौद्ध परम्परा मान्ने दुवै नेवार समुदाय संलग्न हुँदै आइरहेका छन्। कतिपयले यात्रामा बज्रयानी बौद्ध स्तोत्र पाठ पनि गर्छन्। कतिपयले धिमेलगायतका बाजाहरु पनि बजाउँछन्। 

विशेषतः त्यसमा आफ्नो परिवारमा दिवंगत भएकाले सुगति पाउन् भन्ने नै आस्था रहेको हुन्छ। उपाकु यात्राका बेला सधैँ एउटै बाटो प्रयोग गरिन्छ। त्यसैले उपाकु हुने केही दिनअघि नै बाटो सफा गर्ने परम्परा रहेको छ। त्यो बेला बाटोमा कोही आफन्त भेटिए देवतासरह मानेर पाला चढाउने संस्कार रहेको पाइन्छ। 

यही उपाकुमा प्रयोग भइरहेको परम्परागत बाटो मासेर सम्पदामा क्षति भएको भन्दै उपाकु मान्ने समुदायले अहिले धरहरा बनिरहेको स्थानमा नै विरोध पनि गरेका थिए। तर धरहराकै वेवास्ता गरेर ‘धरहरा’ बनाइरहँदा एउटा धार्मिक यात्राको बाटो मिचिएको सुनुवाइ किन होओस्! 

उपत्यकामा सम्पदा बचाउ अभियानमा लागिरहेका आलोक सिद्धि तुलाधर प्रश्न गर्छन्- ‘१५०० वर्षसम्म परिवर्तन नभएको बाटो अहिले आएर नक्कली धरहराका कारण हट्ने, भ्यू टावरलाई राष्ट्रिय गौरव भन्ने तर राष्ट्रिय पहिचानको कुरा, सँस्कृतिको कुरा मास्दै जाने हो?’

हुन पनि प्राचीन सीमा र राजनीतिक भौगोलिक नक्सासमेत बुझाउने उपाकुको बाटो त्यसलाई मान्ने समुदायका लागि सांस्कृतिक सम्पत्ति नै हो। तर धरहराको भूमिगत पार्किङले त्यो धार्मिक यात्राको बाटो अब सधैँका लागि मिचियो।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ११:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा शनिबार, कात्तिक ८, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि अमेरिकाको प्रतिबन्ध शनिबार, कात्तिक ८, २०८२
तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्