काठमाडौं- नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई–मधेस द्रूतमार्ग(फास्ट ट्रयाक) निर्माणको प्रगति ११.११ प्रतिशत भएको छ। फास्ट ट्रयाकको वित्तीयतर्फ ९.४२ प्रतिशत खर्च भएको र आयोजनामा हालसम्म १७ अर्ब ८३ करोड खर्च भइसकेको सेनाले जनाएको छ।
फास्ट ट्रयाकको निर्माण लागन अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ। राष्ट्रिय गौरवको यो आयोजना आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने संशोधित लक्ष्य लिइएको छ।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार ७२.५ किलोमिटर सडकमध्ये तीन ठाउँमा सुरूङ मार्ग निर्माण हुनेछ। उक्त सुरुङको कुल लम्बाइ ६.४१ किलोमिटर रहेको छ।
फास्ट ट्रयाकमा १०.५९ किलोमिटरका विभिन्न पुल निर्माण गर्नुपर्ने छ। ढुंगा÷माटो काट्नुपर्ने सडकको लम्बाइ ५५.५ किलोमिटर रहेकोमा ४४.१ किलोमिटर सडक खण्डको माटो काट्ने काम सकिइसकेको छ। यो कुल माटो काट्नुपर्नेमध्ये ८८ प्रतिशत भएको नेपाली सेनाले जनाएको छ।

सुरूङको लागि राष्ट्रिय परामर्शदाता छनोट भई काम सुरु भएकोमा भौगर्भिक रिपोर्ट आइसकेको सेनाको भनाइ छ। सुरुङ मार्ग निर्माण लागि अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न पुस १० गते कम्पनीहरुको सूची प्रकाशन गरिएको थियो। पुल निर्माणका लागि गएको मंसिर १० गते ठेक्का सम्झौता भएको छ।
हाल पुलका लागि ‘बोर होल ड्रिलिङ’को कार्य भइरहेको सेनाले उल्लेख गरेको छ। फास्ट ट्रयाकमा निर्माण गर्नुपर्ने ४ वटा बेलिब्रिजमध्ये एउटा सञ्चालनमा आएको छ। दुईवटा निर्माण सम्पन्न भएको र खोकनामा निर्माणाधीन बेलिब्रिज स्थानीय विवादका कारण रोकिएको छ।
फास्ट ट्रयाकको ८४ प्रतिशत मुआब्जा वितरण भइसकेको छ। खोकना क्षेत्रको फास्ट ट्रयाक रेखाङकनमा पर्ने जग्गा स्थानीय विवादको कारण प्राप्तिमा बाधा परेको र सो समस्या समाधानको लागि आवश्यक समन्वय र पहल भइरहेको सेनाले जनाएको छ।

अझै ४ सय ४५ रोपनी जग्गामा मुआब्जा वितरण गर्न बाँकी रहेको छ। २०७४ वैशाख २१ गते सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो।
२०७६ भदौ १ गते मन्त्रिपरिषद्ले परियोजनाको डिपिआर स्वीकृत गरेको थियो। द्रुतमार्ग एसियाली राजमार्ग डिजाइन मापदण्ड अनुसार बनिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।