सय दिनभन्दा बढी दिनदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन्।
भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन्।
दार्जिलिङ बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जिलिङ र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिला जस्तै सामान्य र सुचारु भएको छ।
पश्चिम बंगालबाट टुक्रिई दार्जिलिङ र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य – गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जिलिङको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एक सय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो।
गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता विमल गुरुङले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत अनिश्चितकालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका जनाइएको छ।
दशैं-तिहार जस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ।
गत मंगलबार केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत नेताहरुलाई प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिने भन्दै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिन आह्वान गरेका थिए।
गोर्खाल्यान्ड आन्दोलन र दार्जिलिङ बन्द गत एकसयचार दिनदेखि चल्दै आइ त्यहाँको जीवन कष्टकर बन्दै आइरहेको थियो।
आन्दोलन र बन्दको अवधिमा हिंसा भड्किँदा ११ जनाको ज्यान गएको र थुप्रै सङ्ख्यामा आन्दोलनकारीहरु घाइते भएका थिए । यसै अवधिमा व्यापारिक र पर्यटकीय गतिविधि ठप्प हुँदा दार्जिलिङले ठूलो आर्थिक क्षतिसमेत बेहोर्नुपरेको थियो । (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।