काठमाडौं- ए डिभिजन फुटसल लिग आगामी वर्षको वैशाख र जेठमा पोखरामा आयोजना हुने भएको छ। सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटसल लिग पोखरामा वैशाख २५ देखि जेठ १५ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।
ए डिभिजन फुटसल लिगमा १० टीमको सहभागिता हुनेछ। सबैभन्दा बढी बागमती प्रदेशबाट रहेको छ। बागमती प्रदेशबाट सर्वाधिक चार टीमले फुटसल लिग खेल्ने छन्।
त्यस्तै, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट समान १–१ टीमले फुटसल लिग खेल्ने छन्। ए डिभिजन फुटसल लिगका लागि प्रदेश १ मा चैत १ देखि ५ गतेसम्म इटहरीमा छनोट चल्नेछ।
त्यस्तै, प्रदेश २ को छनोट हेटौंडामा चैत ८ देखि १२ गतेसम्म हुने एन्फाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट भने दाङमा चैत १९ देखि २३ सम्म हुनेछ।
चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा बागमती प्रदेशको छनोट हुनेछ। यता, गण्डकी प्रदेशको छनोट २०७८ को वैशाख ३ देखि ७ गतेसम्म पोखरामा हुने एन्फाले जानकारी दिएको छ।
फुटसल लिगको विजेताले १० लाख नगद पाउँदा उपविजेताले पाँच लाख पाउने छ। त्यस्तै, विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदयीमान खेलाडी र प्रशिक्षकले जनही २५ हजार रूपैयाँ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।