नयाँ दिल्ली - नेपालका युवा स्पिनर सन्दीप लामिछानेले आइपिएमा डेब्यु गरेको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेयरडेभिल्सलाई हराएको छ। शनिबार भएको खेलमा बैंग्लोरले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो।
जितसँगै बैंग्लोरको प्लेअफमा पुग्ने सम्भावना बढेको छ। बैंग्लोरले ११ खेलबाट ८ अंक जोडेको छ। प्रतियोगिताबाट बाहिरिएको दिल्लीको १२ खेलबाट ६ अंक छ।
दिल्लीले दिएको १ सय ८२ रनको लक्ष्य बैंग्लोरले ५ विकेटको क्षतिमा ६ बल बाँकी रहदा पार गर्यो। बैंग्लोरको जितमा एबी डि भिलियर्सले नटआउट ७२ रन जोडे। उनले ३७ बल खेल्दा ४ चौका र ६ छक्का प्रहार गरे। कप्तान विराट कोहलीले ४० बलमा ७० रन जोडे। उनले ७ चौका र ३ छक्का हिर्काए। कोहली र भिलियर्सबीच तेस्रो विकेटका लागि १ सय १८ रनको साझेदारी भएको थियो।
बलिङतर्फ दिल्लीका ट्रेन्ट बाउल्टले २ विकेट लिए भने सन्दीप लामिछाने, हर्षल पटेल र अमित मिश्राले १-१ विकेत हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १ सय ८१ रन जोड्यो।
दिल्लीका लागि अभिशेक शर्मा र रिशव पन्तले उत्कृष्ट ब्याटिङ् गरे। रिवशले ३४ बलमा ६१ रन जोडे। उनले ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै अभिशेकले नटआउट ४६ रन जोडे। उनले १९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। कप्तान श्रेयर एयरले ३२ रन जोडे। ओपनर पृग्वी शाह २ रन र जासन रोए १३ रनमा आउट भएका थिए। बलिङतर्फ बैंग्लोरका युजेभेन्द्र चाहलले २ विकेट लिए।
खेलमा सन्दीपले दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका हुन्। यसअघि देल्लीबाट लगातार प्लेइङ ११ मा परेका अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको स्थानमा सन्दीपले दिल्ली डेयरडेभिल्सको पहिलो रोजाइमा पर्दै शनिबार आइपिएलमा डेब्यू गरेका हुन्। सन्दीप यसअघि दिल्लीका ११ खेलमा पहिलो रोजाइमा पर्न सकेका थिएनन्।
यो पनि : आइपिएलमा सन्दीप लामिछानेको 'ड्रिम' डेब्यू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।