नयाँ दिल्ली- आइपिएल क्रिकेटमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले ड्रिम डेब्यू गरेका छन्। सन्दीपले शनिबार दिल्ली डेयरडेभिल्सबाट ४ ओभर बलिङ गर्दा १ विकेट लिएर २५ रन दिए। उनले रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्ध १० बल डट फ्याँकेका हुन्। उनको बलमा २ चौका र १ छ्क्का बेहोर्दा ६.२५ को इकोनोमीमा बलिङ गर्न सफल भए।
सन्दीपले आइपिएलमा पहिलो विकेट लिने क्रममा बैंग्लोरका ओपनर पार्थिव पटेलले ६ रनमा आउट गरे। उनले तेस्रो ओभरको चौथो बलमा पटेललाई एलबिडब्लूको धरापमा पारेका थिए। ३३ वर्षीय पटेल भारतीय टिमका अनुभवी खेलाडी हुन्। उनले भारतीय टिमबाट २५ टेस्ट र २८ एकदिवसीय खेल खेलेका छन्।
खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको नोक्सानीमा १ सय ८१ रन जोडेको थियो। १ सय ८२ रनको लक्ष्य पछ्याएको बैंग्लोर विरुद्ध सन्दीपले पहिलो ओभरमै बलिङको मौका पाएका थिए। पहिलो बलमा डट बल फ्याँकेका सन्दीपले ६ रन खर्चिदा बैंग्लोरका पार्थिव र मोइन अलीले बाउन्ड्री प्रहार गर्न सकेनन्। तेस्रो ओभरमा तेस्रो बलमा पार्थिवले सन्दीपलाई चौका प्रहार गरेका थिए। चौथो बलमा उनले विकेट लिएपछि दक्षिण अफ्रिकाका एबिडी भिलियर्स विरुद्ध बलिङ गर्ने मौका पाए। त्यसअघि भारतीय कप्तान विराट कोलही विरुद्ध पनि सन्दीपले बलिङ गरे। उनले सो ओभरमा विकेट सहित ५ रन खर्चिए।
त्यसपछि सन्दीपले सातौं ओभरमा ८ रन खर्चिए। सातौं ओभरको पहिलो ओरभमा सन्दीपलाई विराट कोहलीले चौका प्रहार गरेपनि त्यसपछि कोहली र भिलियर्सले १-१ लिए।
आफ्नो स्पेलको अन्तिम ओभरको रुपमा सन्दीप १२ ओभरमा बलिङ गरे। यो ओभरमा सन्दीपले १० रन खर्चिए। भिलियर्सले सन्दीप विरुद्ध पाँचौ बलमा छक्का प्रहार गरे।
यसअघि सन्दीपले दिल्लीका ११ खेलमा मौका पाएका थिएनन्। १२ औं खेलमा मौका पाएका सन्दीपले आफ्नो क्षमता प्रमाणित गरेका हुन्। २ महिनाअघि २० लाख भारुमा दिल्लीमा आवद्ध हुँदै इतिहास बनाएका सन्दीपले आइपिएलमा खेल्ने पहिलो खेलाडी बन्दै अर्को इतिहास बनाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।