काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ३४ वर्ष पुरानो बोइङ-७५७ जहाज 'गण्डकी’ दुई वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छ। कलसाइन 'नाइन एन एसिबी बोइङ' जहाज २०१९ जनवरीदेखि ग्राउन्डेड भएको हो।
३२ वर्षसम्म नेपाली झन्डा फहराएर विश्वका विभिन्न देशमा उडान भरिसकेको बोइङ अहिले न उड्न सक्छ, न बिक्री हुन सकेको छ।
जहाजको उडानयोग्य समय (एयर वर्दिनेस) सकिएको पनि वर्ष दिन हुन लागिसकेको छ। तर, निगम व्यवस्थापनले उक्त जहाजको व्यवस्थापनमा कुनै निर्णय गर्न सकेको छैन।
उक्त बोइङ सन् १९८७ मा नेपालले खरिद गरेको थियो। सँगै खरिद गरिएको अर्को बोइङ 'कर्णाली' भने २०७४ सालमै भवन भट्टको बिबी एयरवेजले १५ करोड रुपैयाँमा खरिद गरेको थियो।
त्यसपछि पनि नियमित उडानमा रहेको बोइङ-७५७ 'गण्डकी' २ वर्षदेखि ग्राउन्डेड भएर बसेको हो। १९० सिट क्षमताको बोइङमा १६ वटा बिजनेस क्लास सिट छन्। बिक्रीका लागि बैनासमेत भइसकेको बोइङ दुई वर्षदेखि विमानस्थलमै ग्राउन्डेड भएर बसेको हो।
निगमले गत वर्ष नै यो जहाज व्यवस्थापनको काम अघि बढाएको थियो। तर, कोभिड महामारी सुरु भएसँगै बिक्री प्रक्रियामा धक्का लागेको हो। तत्कालीन समयमा बोइङ बिक्रीका लागि ५ करोड बैनासमेत दिइसकेको कम्पनीले अहिले औपचारिक रुपमा बोइङ नलैजाने बताइसकेको छ।
'गण्डकी'को दुर्गति
२०१८ को अक्टोबर अगाडिसम्म निगमको बोइङ-७५७ कलसाइन नाइन एन एसिबी ‘गण्डकी’ जहाज नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमै थियो। नियमित मर्मतका लागि २०१८ को अक्टोबरमा यो जहाज मलेसिया पठाइएको थियो। मर्मतमा झन्डै ५ करोड रुपैयाँ खर्च भयो। मर्मतपछि २०१९ को जनवरी १६ मा काठमाडौं आउने तालिका तय भयो। जहाज मलेसियाबाट काठमाडौंका लागि उड्यो। जहाज आकाशमा उडानकै क्रममा ‘विङ स्क्रिन’ बिग्रन पुग्यो। जहाजलाई सुरक्षित तवरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो। जहाज पुनः मर्मत नगरी उडान गर्न नमिल्ने अवस्थामा पुग्यो।
जहाजलाई पुनः १२ हजार डलरभन्दा बढी रकम खर्च गरेर उडानयोग्य त बनाइयो तर, निगमको तत्कालीन नेतृत्वमा रहेका महाप्रबन्धक मदन खरेलले उडानमा चासो दिएनन्। बरु जहाज बिक्रीका लागि प्रक्रिया थालनी गरे।
जहाज उडानयोग्य रहँदारहँदै उडान बन्द गरिएको विषय विवादमा आयो।
उडानयोग्य अवस्थामा जहाज भए पनि उडान नहुँदा बोइङ उडाउने निगमका सबै पाइलटको उडान योग्यता प्रमाणपत्र (पिपिसी)को म्याद सकियो। पिपिसी नवीकरण हुन सकेन।
निगमका तत्कालीन महाप्रबन्धक खरेलले जहाज बिक्री गर्ने भन्दै पाइलटको पिपिसी नवीकरणमा पनि कुनै चासो दिएनन्।
त्यसपछि निगम व्यवस्थापनले २०१९ को अप्रिलतिर बोइङ उडान नगर्ने उद्घोष गर्यो। त्यसकाे केही महिनापछि, २०१९ जुन ११ मा निगम सञ्चालक बोर्डबाट निगम महाप्रबन्धक मदन खरेलले जहाज बिक्री गर्ने निर्णय अनुमोदन गराए।
२०१९ जनवरीदेखि जहाज उडान बन्द गराएका खरेलले जहाजको उडानयोग्य प्रमाणपत्रको समय २०२० को फेब्रुअरीमा सकिने भएपनि ढिलासुस्ती गर्दै जहाज बिक्री गर्ने निर्णय २०७६ जेठको अन्मित साता मात्रै बोर्डबाट अनुमोदन गराए।
निगम व्यवस्थापनले बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गर्न ढिला गर्दै गयो। अन्ततः खरेलले जहाजको उडान योग्य समय घर्किएपछि जहाज बिक्रीका लागि ग्लोबल टेन्डर गरे।
निगमले २०७६ असार ११ गते पहिलो पटक बोइङ बिक्रीका लागि ४५ दिनेको समयसिमा राख्दै ग्लोबल टेन्डर गर्यो। टेन्डरमा कुनै पनि कम्पनी आएनन्। फेरि निगमले जहाज बिक्रीका लागि दोस्रो पटक समय थप गर्दै सूचना जारी गर्यो।
निगमले दोस्रो पटक सूचना जारी गरेपछि जहाज खरिदका लागि २ वटा कम्पनीले चासो देखाउँदै प्रस्ताव हाले। तर, प्रस्तावमा निगमले तोकेको न्युनमत मूल्य भन्दा पनि कम रकममा जहाज खरिद गर्ने प्रस्ताव आएको भन्दै सबै प्रक्रिया रद्द गरियो।
निगमले जहाज बिक्रीका लागि ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँ राखेर टेन्डर गरेको थियो। तर, खरिदका लागि कुनै पनि कम्पनीले उक्त रकम राखेर प्रस्ताव पेस नगरेपछि टेन्डर प्रक्रिया रद्द गरेको थियो।
त्यसपछि २०७६ कात्तिकमा फेरि निगमले तेस्रो पटक बोलकबोलमार्फत जहाज बिक्रीका लागि भन्दै १५ दिनको समय दिएर सूचना प्रकाशन गर्यो। तेस्रो पटकको सूचनामा निगमले जहाज बिक्रीका लागि भन्दै विदेशी कम्पनीमार्फत् गराएको मूल्यांकन रिपोर्टमा उल्लेख भएको भन्दा कम मूल्य राखेर सूचना प्रकाशन गरेको थियो।
जहाज बिक्रीका लागि फिन्टेक ग्लोबल कन्सल्ट्यान्ट कम्पनीले बुझाएको प्रतिवेदनमा बढीमा ५२ लाख ९६ हजार अमेरिकी डलर र कम्तीमा ४३ लाख ३३ हजार अमेरिकी डलरमा बिक्री गर्न सकिने उल्लेख थियो। तेस्रो पटकको लिलामी सूचना गर्दा निगमले न्यूनतम भन्दा कममा जहाज विक्रीको लागि बोलकबोलका लागि सूचना प्रकाशन गरेको थियो।
लिलामी प्रक्रियामा ३ वटा कम्पनी सहभागी भए। जसमा सबैभन्दा बढी रकम तिर्न सहमत कम्पनी पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङलाई ५७ लाख १० हजार अमेरिकी डलरमा बिक्री गर्ने निर्णय गर्दै ५ करोड रुपैयाँ बैना लिएको थियो। तर, बैना लिएको केही समयपछि नै विश्वमा कोरोनाको महामारी सुरु भयो। महामारी सुरु भएपछि उक्त कम्पनी जहाज खरिद–बिक्रीको लागि दुई पक्षीय सम्झौताका लागि आएन।
जहाजको उडानयोग्य समय पनि २०२० को फेब्रुअरीमा सकियो। अहिले उक्त कम्पनीले जहाज नलैजाने भनेर अनौपचारिक रुपमा निगम व्यवस्थापनलाई जानकारी गराइसकेको छ।
अब के हुन्छ?
जहाज खरिदबिक्रीका लागि लामो समयसम्म पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनी नआएपछि खोजीनीति सुरु भएको छ।
जहाज खरिदका लागि बैनासमेत दिएको कम्पनीले सुरुवाती चरणमा कोरानालाई कारण देखाएर सम्झौता गर्न आएन। लामो समयसम्म पनि कम्पनी सम्पर्कमा नआएपछि जहाज व्यवस्थापनको विषय निगम सञ्चालक समितिमा प्रवेश भएको थियो।
केही समय अगाडि बसेको सञ्चालक समितिको बैठकले बैना दिएको कम्पनीको औपचारिक निर्णय माग गर्ने निर्णय गरेको थियो।
सोही बमोजिम निगम व्यवस्थापनले जहाज खरिदका लागि बैनासमेत दिएको पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई पत्राचार (इमेल मार्फत्) गरिसकेको निगम महाप्रबन्धक डिम प्रकाश पौडेलले बताए। कम्पनीको जवाफ आएपछि त्यस विषयमा पुनः बोर्डले जहाज व्यवस्थापनको विषयमा निर्णय गर्ने उनको भनाइ छ।
तर, जहाजको उडानयोग्य प्रमाण २०२० को फेब्रुअरीमा नै सकिइसकेको छ। जहाजलाई पुनः उडानयोग्य बनाउन भने मिल्छ। त्यसका लागि जहाज मर्मत गर्नुपर्ने हुन्छ। जहाज मर्मतमा ठूलो रकम खर्च हुने अवस्था छ। जहाजको इन्जिन साइकल पनि १ सय घण्टा मात्रै छ। जसकारण जहाजलाई उडानयोग्य बनाउने हो भने करौडौं रुपैयाँ खर्च गर्नुपर्छ।
जहाजलाई उडानयोग्य बनाइसकेपछि पनि बेच्नुभन्दा कार्गो उडानमा प्रयोग गर्नु उचित हुने निगमका इन्जिनियरहरू बताउँछन्। तर, निगमले अन्तर्राष्ट्रिय उडानतर्फ दुई प्रकृतिको जहाज उडान नगर्ने उद्घोष गर्दै बोइङ बिक्री गर्ने निर्णय गरेको थियो।
सन् २०२० को फेब्रुअरी महिनाभित्रै उक्त जहाज उडान गर्नुपर्ने बाध्यता भएपनि कोरानाका कारण समस्या आएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य प्रमाण-पत्रको समय थप गर्नुपर्ने निगमको भनाइ छ।
प्राधिकरणले उडानयोग्य प्रमाण-पत्र थप नगरेको अवस्थामा जहाज बिक्रीबाट हुने आम्दानीमा प्रत्यक्ष असर पुग्ने निगमको भनाइ छ। ‘विपदको समयमा प्राधिकरणले उडानयोग्य समय थप्नु पर्छ,’ निगम स्रोतले भन्यो, ‘त्यसका लागि आवश्यक सबै काम गर्नेछौँ।’
प्राधिकरण महानिर्देशक राजन पोखरेलले भने अहिले नै थप हुने वा नहुने विषयमा बोल्न नसक्ने जानकारी दिए। जहाजको सबै अवस्था हेरेर मात्रै उडान योग्य समय थप हुने वा नहुने विषयमा दुई पक्षीय छलफलबाट निर्णय हुने उनको भनाइ छ।
दोषी को?
बोइङ जहाज उडान बन्द गरे पनि बिक्री प्रक्रिया ढिलाइ गर्दा यो समस्या आएको निगम व्यवस्थापनको भनाइ छ। जहाजको उडान २०१९ जनवरीदेखि नै बन्द भएको थियो। जहाज उडान बन्द हुँदा जहाज बिक्रीका लागि परामर्शदाताले अध्ययन गरेर रिपाेर्ट दिएको थियो। तर, तत्कालीन निगम महाप्रबन्धक खरेलले जहाज बिक्रीको प्रक्रिया ढिला गर्दा अहिले यो समस्या आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।