काठमाडौं–कोरोनाले थला पारेको फिल्म क्षेत्र बिस्तारै उठ्ने जमर्को गर्दैछ। शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनपछि अर्को चलचित्रले पनि प्रदर्शन मिति तोकेको छ। चलचित्र ‘परदेशी २’ ले २०७८ को दसैंलाई प्रदर्शनको मिति तोकेको हो।
५० दिन लगाएर छायाँकन गरिएको भनिएको फिल्मको कथा रमेश बिजिले तयार पारेका हुन्।
फिल्ममा दिलिप रायमाझी, नीर शाह, प्रशान्त तामाङ, केकी अधिकारी, बर्षा सिवाकोटीलगायतको अभिनय रहेको छ। साथमा अहिलेका चर्चित युवा गायक तथा मोडल प्रकाश सपुतले पनि यही फिल्ममार्फत् डेब्यु गर्दैछन्।
सुदीप कुँवरको मुख्य सहायक निर्देशन रहेको फिल्ममा मानकृष्ण महर्जनको छायाँकन रहेको छ। अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत तथा गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।
नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा बनेको फिल्ममा राजेश वंशल र नारायण रायमाझीको लगानी रहेको छ।
अध्ययनका लागि विदेशिने नेपाली युवाहरुको विषयवस्तुलाई केन्द्रमा राखेर फिल्म निर्माण गरिएको छ। नारायण रायमाझीले निर्देशन गरेको फिल्मको पहिलो सिक्वेल परदेशीलाई दर्शकले निकै मन पराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।