काठमाडौं- छरपस्ट नीति तर सुस्त कार्यशैली अहिले देखिएको नेपाल क्रिकेट संघ (क्यान) को गति यस्तै छ। यसरी नै चल्छ भन्ने मानसिकता हुँदा पाएको उपलब्धिसमेत गुम्ने डर देखिन्छ। प्रतिभावान खेलाडी विलय हुने चिन्ता उत्तिकै छ। प्रतिस्पर्धा बिनाका सम्झौता र दुई प्रतियोगिता, त्योबाहेक क्यानसँग यो गरेँ भन्ने विषय छैन।
देखिने काम गर्न एक दिन पर्याप्त हुने क्रिकेटमा नगर्नेका लागि वर्षौं अपुग हुन्छ। नेतृत्व तहमा पुग्नु अघिका कुरा र पुगेपछिको तालमेल नमिल्नु सामान्य हुने परिपाटी रहनाले क्यानले आफूले गर्नुपर्ने विषय नै भुलिरहेको छ। समय बितिरहेको ज्ञान क्यान पदाधिकारीलाई छैन। वाार्षिक तालिकाका केही प्रतियोगिता गर्नु ठूलो उपलब्धीका रुपमा हेरेर तमाम विषयहरु नजरबाहिर राखिरहेको छ।
२०७३ वैशाख १३ गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट निलम्बनमा परेको क्यान २०७६ असोज २७ गते ब्युँतियो। सशर्त गरिएको फुकुवासहित। आइसिसीले फुकुवा गर्दा राखेका ‘सर्त’ क्यानमाथिको पूर्ण भरोसा नगर्नुको परिणाम पनि हो।
करिब तीन वर्षे अवधिमा अभिभावकविहीन भएरै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहे। ऐतिहासिक सफलता पनि पाउँदै गए। २०७६ असोज ११ गते क्यानको चुनावबाट नयाँ कार्यसमिति आयो। पूर्वअध्यक्ष विनयराज पाण्डेलाई २९ मतान्तरले पराजित गर्दै अध्यक्षमा चतुरबहादुर चन्दसहित उनको प्यानल विजयी भयो।
आइसिसीले बधाई दिँदै क्यानले रफ्तार लिने विश्वास लियो। खेलाडीहरुलाई अब केही हुन्छ कि भन्ने आशमा देखिए। पलायन हुन लागेका खेलाडी रोकिए, मरेर गएको आश जाग्यो। क्यान ब्युँतिदा सबैभन्दा बढि खुशी खेलाडी नै थिए। तर अहिले क्यानको कार्यशैलीले फेरि सबैलाई निराश बनाउँदै छ।
निलम्बन फुकुवा भएको १६ महिना नाघ्यो। यो अवधिमा क्यानले धेरै काम गर्न सक्थ्यो। घरेलु प्रतियोगिताहरुलाई व्यवस्थित, ग्रास रुटका कार्यक्रम, अन्तर्राष्ट्रिय सिरिज तथा व्यवस्थित कार्यसम्पादन गर्दै क्यानलाई सहि बाटोमा डोर्याउन सक्थ्यो। तर यो अवधिमा क्यानले गतिलो हुने काम गरेन। क्यान जुन विषयमा हात हाल्छ विवाद निस्किएकै छ। आलोचना भएकै छ।
सुस्त गति
माघ २ गतेदेखि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता चलिरहेको छ। प्रधानमन्त्री कप क्यान निलम्बन हुँदा पनि भइरहेकै थियो। क्यानले नै गर्न थालेपछि स्तरीय हुनु पर्ने हो। तर प्रतियोगिता गर्नकै लागि मात्रै गरिएको देखिन्छ। गएका वर्षमा हुने गरेको फ्रेन्चाइज लिगको जस्तो खेल सञ्चालन गर्नसमेत क्यान चुकिरहेको छ।
प्रतियोगिताको अघिल्लो दिनसम्म पनि क्यानका सबै सदस्यलाई यो मितिबाट प्रतियोगिता हुँदैछ भन्ने समेत थाहा थिएन। प्रधानमन्त्री कपकै लागि क्यानले गम्भीर भएर लागिपरेको देखिँदैन। स्पोन्सर ल्याउनेदेखि व्यवस्थापनमा क्यान चुकेकै छ।
त्रिवि क्रिकेट मैदानको विकल्प नदेखिँदा मूलपानी मैदानमा हुनुपर्ने सुधार भएको छैन। मैदानको बाउन्ड्री लाइनमा खाल्डाखुल्डी धेरै छ। मैदानको सतह मिलेको छैन। दुबो मरेर धुलो उड्ने मैदान भएको छ।
जसरी पनि चल्छ भन्ने मनस्थितिमा क्यान छ। यसअघि पुसमा दाङको लमहीमा प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिता क्यानले गर्यो। प्रतियोगिताले केही नयाँ आशा उजागर गरे पनि क्यानको कार्यशैली प्रश्नरहित हुन सकेन। लगातारको खेल र तयारीको कम समयले खेलाडी मारमा नै परे।
अपारदर्शी तरिकाले गरेको सम्झौतामा प्रश्न उठाउने प्रशस्तै ठाउँ छन्। क्यानकै पदाधिकारी नियमविपरित सम्झौता गरेको भनिरहेका छन्। ‘बिना टेन्डर त्यो पनि १५ महिनाको लागि के आधारमा सम्झौता गर्यो?’ क्यानका एक पदाधिकारी प्रश्न गर्छन्।
पुसको महिनामा तराईमा क्रिकेट। हुस्सुले बिहानको पहिलो खेलमा पूरा ओभर खेल्न सक्ने स्थिति समेत रहेन। वर्षदिनमा आउने एकमात्र २० ओभरको प्रतियोगिता। एक सातामा खेलाडी छनोट अर्को एक साताभित्र प्रतियोगिता सम्पन्न। यस्तो क्यानको नीतिले राम्रा खेलाडी उत्पादन हुन्छ? अनि खेलाडीले खेलेरै जिन्दगी चलाउन सक्छन्?
प्रधानमन्त्री कपमा फाइनलसम्म पुग्ने टिमका खेलाडीले ५ वटा प्रतियोगिता खेले। वर्षदिनमा ५ वटा खेलले खेलाडीमा हुने केही छैन। हामीले प्रतियोगिता गरायौं भनेर छाति फुल्याउने कि महिला क्रिकेटको विकासमा काम हुने गरी लाग्ने?
क्यानले मुख्य प्रशिक्षक डेभ वाटमोर, क्रिकेट म्यानेजरमा विनोद दास, महाप्रबन्धकमा रौनकबहादुर मल्ल र मुख्य वित्त प्रबन्धकमा रमेशकुमार न्यौपानेलाई नियुक्त गरेको छ। यसले आउँदा दिनमा स्पष्ट योजना र काम देखिने आश बढेको छ। महिला र पुरुषको प्रधानमन्त्री कप आयोजना गर्नुबाहेकका सफलतामा पनि क्यान लाग्ने आश छ नै।
क्यान अध्यक्ष भन्छन्, ‘हामीले काम गरिरहेका छौं तत्काल कायापलट हुने होइन।’
तर सुधारको कामहरु देखिइसक्नु पर्ने हो। क्यानका पदाधिकारीले क्यानको कार्यलाई ‘पार्ट टाइम’ मानेको पाइन्छ। पछिल्लो समयमा क्यानका पदाधिकारी पनि एकजुट भएका छैनन्।
हुन पनि डिभिजन फाइभदेखि एकदिवसीय मान्यतासम्म आइपुग्दा नेपाली क्रिकेटले मैदानबाट दिएको खुसी जति नै ठूलो भए पनि क्यानमाथिको प्रतिबन्धका कारण भोगेका समस्याहरु पनि उस्तै ठूला थिए। खेलाडी र प्रशिक्षकले पाउने तलबको अप्ठ्यारादेखि हरेक प्रतियोगितामा जान र त्यसको तयारी गर्न आइसिसीकै मुख ताक्दा कति अवसरसमेत गुमे। यसैले नयाँ नेतृत्व आएपछि सुधारको आश हुनु स्वभाविक थियो। तर त्यही आशा अहिले निराशामा बदलिइरहेको छ।
विवादमा तानिएको क्यान
क्यानले पछिल्लो समयमा लिएको निर्णय र गतिविधि फलदायी छैन। तर क्यान भने आफूहरुले गरेको निर्णय सहि भएको भन्दै अघि बढिरहेको छ।
अहिले काम कसरी बढीरहेको छ त्यसका आधारमा क्यानको अगाडिको दिन पनि प्रष्ट देखिन्छ। पात्र उही, प्रवृत्ति उही जस्तो भइरहेको छ।
क्यानले पुष १४ गते एडप्याड मिडिया मार्केटिङ कम्पनीसँग पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजन गर्न सम्झौता गर्यो। त्यो बेला अध्यक्ष चन्दले क्रिकेट जगतमा सकारात्मक सन्देश गएको भन्दै क्यान सहि गतिमा फर्किएको बताएका थिए। तर प्रतिस्पर्धा बिना कुनै एउटा कम्पनीलाई जर्सीको प्रायोजन गर्न दिनु र प्रायोजित रकमसमेत नखुलाउनु गलत नियत देखिन्छ।
अपारदर्शी तरिकाले गरेको सम्झौतामा प्रश्न उठाउने प्रशस्तै ठाउँ छन्। क्यानकै पदाधिकारी नियमविपरित सम्झौता गरेको भनिरहेका छन्। ‘बिना टेन्डर त्यो पनि १५ महिनाको लागि के आधारमा सम्झौता गर्यो?’ क्यानका एक पदाधिकारी प्रश्न गर्छन्।
क्यानको चौतर्फी विरोध भएको अर्को निर्णय हो, भारतीयलाई नेपाल प्रिमियर लिग (एनपिएल) बेच्ने निर्णय। गत मंसिर ३ गते क्यानले साधारणसभाबाट एनपिएल भारतीय कम्पनी एस थ्री स्पोर्ट्सलाई १० वर्षको लागि दिन निर्णय पारित गरायो।
नेपाली खेलाडीको आफ्नै बलबुताले पाएको एकदिवसीय मान्यता क्यानको यस्तै नीतिले गुम्न सक्छ। क्यानको उद्देश्य भने ५-६ वर्षमा टेस्ट मान्यता पाउने छ। तर यतिबेला क्यान ‘फर्मुला वान’ को रेसमा बयलगाढामा चढेको छ।
एस थ्री स्पोर्ट्सलाई एनपिएलको सबै अधिकार दिँदै १० वर्षको ४२ करोड रुपैयाँ लिने क्यानको तयारी थियो। तर क्यान आफैले आयोजना गर्नु पर्ने भन्दै सबैले विरोध गरे। नेपालमा तीन वटा फ्रेन्चाइज लिग भइरहेका छन्। सबैले रुचाएका पनि छन्। एनपिएल झनै आधिकारिक प्रतियोगिता भएकोले त्यसै पनि उचाइ लिन सक्छ। एनपिएल सफल हुन्छ भनेर थाहा हुँदा हुँदै क्यानले खुट्टा कमाइरहेको छ।
चुनाव जिते लगत्तै अध्यक्ष चन्दले एनपिएल तत्काल गर्ने बताएका थिए। विजयी भावसँगै हौसिएका अध्यक्ष चन्दले भनेका थिए ‘हामी एनपिएल गरेरै छाड्छौं। राम्रो उत्कृष्ट प्रतियोगिता हुनेछ।’
तर अहिले क्यान आफै एनपिएल गर्न डराउँदै छ। डरकै कारण एनपिएलको जिम्मा भारतीय कम्पनीलाई सुम्पिने प्रक्रियामै छ। क्यानले ४२ करोड रुपैयाँ आउने भनेर हेरेको मात्रै छ। तर १० वर्षे अवधिमा क्यानले गुमाउने पाटोलाई भने हेरेको छैन।
क्यान पदाधिकारीसँग स्पष्ट र दूरदर्शी दृष्टिकोण छैन। क्यानले गरेको निर्णयहरु परिपक्क देखिँदैन। गरेका कामहरु पनि झारा टार्ने हिसाबले सोचिएको देखिन्छ। सुस्त काम र प्रवृत्तिको कारण क्यानले १६ महिना बितिसक्दा पनि आइसिसीको विश्वास जित्न सकेको छैन।
आइसिसीले कहिले बजेट दिन्छ र काम गरौं भन्दै क्यान ढुकी रहेको छ। खेलाडीले एक वर्षदेखिको तलब पाएका छैनन्। कति खेलाडी पैसाको अभावमा खेलिरहेका छन् कतिको मनोबल नै गिरेको छ। त्यसै पनि कोरोना भाइरसले थला परेका क्रिकेटर समस्यामा नै छन्।
क्यानले भने यो विषयलाई हल्का रुपमा लिन्छ। क्यानका सचिव नै भन्छन्, ‘आइसिसीको पनि निर्वाचन थियो। नयाँ वर्ष थियो। क्रिसमस थियो। ६/७ महिनादेखि उनीहरु पनि व्यस्त थिए। सबै मागहरु गइसकेको छ। खै अब कहिले पठाउला।’
त्यसो त पहिलो पटक वर्गीकरणमा परि मासिक तलब पाउने भएपछि महिला क्रिकेटरहरु दंगै थिए। तर विना प्रतियोगिता बसिरहनु खेलाडीको लागि यो भन्दा ठूलो सजाय अर्को हुन्छ र? क्यान फुकुवा भएपछि अहिलेसम्म एउटा पनि प्रभावकारी योजना तथा नीति बनेको छैन। घरेलु प्रतियोगिता नै १५ दिनको भएपछि प्रतिभावान खेलाडी कसरी जन्मिन्छन्?
आइसिसी विश्वकप लिग-टु का सिरिजहरु नेपालले खेलिरहेको छ। लिग-टु का सिरिजमध्ये नेपालले अमेरिका र ओमानबीच एउटा मात्र सिरिज खेलेको छ। नेपाली खेलाडीको आफ्नै बलबुताले पाएको एकदिवसीय मान्यता क्यानको यस्तै नीतिले गुम्न सक्छ। क्यानको उद्देश्य भने ५-६ वर्षमा टेस्ट मान्यता पाउने छ। तर यतिबेला क्यान ‘फर्मुला वान’ को रेसमा बयलगाढामा चढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।