पोखरा– पोखरामा आगामी फागुनमा प्रथम गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ४ देखि ८ गतेसम्म प्रतियोगिता हुने भएको हो। पोखरा रंगशालास्थित भलिबल काेर्टमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका २२ टिमले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता महिला/पुरुष दुवै विधामा प्रथम हुनेले समान २–२ लाखसहित ट्रफी पाउने छन्। त्यस्तै द्वितीय हुनेले १ लाख, तृतीय हुनेले ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेण्डरले जनही ५ हजार पाउने छन्। प्रतियोगिताका लागि ५४ लाख खर्च लाग्ने आयोजकले जनाएका छन्।
मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक खगेन्द्र गौचनले नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तार गर्दै भलिबलबाट पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने बताए। त्यस्तै, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिनाले प्रतियोगिता मुख्यमन्त्री कप मात्र नभई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्न प्रतियोगिता प्रारम्भिक विन्दु हुने दावी गरे। उनले प्रतियोगिताबाट करिब २० देखि २५ जना खेलाडी छनोट गर्ने र उनीहरुलाई बन्द प्रशिक्षणमा राख्नेसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।