काठमाडौं– गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ।
आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुदमन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो।
१३ औं साग २०१९ आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरू, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय मंगलबार विघटन भएको हो। २६ खेल समावेश १३ औं साग २०७६ साल मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा भएको थियो।
ऐतिहासिक सफलता हात पार्ने क्रममा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरी २ सय ७ पदक जितेको थियो।
गत मंसिरमा मात्रै एक वर्ष ढिलो गरी १३ औं साग खेलकुदको खर्च विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गरेको थियो। जसमा कार्यक्रमतर्फ १ अर्ब, ३१ करोड, ७८ खाख, ४३ हजार ६१ रुपैयाँ साथै निर्माणतर्फ २ अर्ब, ८६ करोड, १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको देखिएको छ।
साग खेलकुद सकिएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागअघि बताए पनि विवरण सार्वजनिक हुन झण्डै एक वर्ष लागेको थियो। पोखरा र जनकपुरमा भएको खर्च विवरण आउन समय लागेको र कोरोना माहामारीका कारण भनिएको समयमा काम पूरा गर्न नसकेको कारण खर्च विवरण सार्वजनिक गर्न नसकेको राखेपको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।