काठमाडौं– आसन्न १७ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७६ लाई केल्मी नेपालले प्रायोजन गरेको छ। शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) र केल्मी नेपालबीच सम्झौता भएको हो।
मञ्चले केल्मीसँग पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो। मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेबीच प्रायोजन.सम्झौता पत्रमा हस्ताक्षर भएको हो। अवार्डको सह–प्रायोजकको रुपमा केल्मी नेपालले ७ लाख ५० हजार रुपैयाँ बराबरको एक सय थान विन ज्याकेट, एक सय थान पोलो टी–सर्ट र ३५ सेट गिफ्ट ह्याम्पर उपलब्ध गराउने छ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै केल्मीका प्रबन्ध निर्देशक न्यौपानेले कोभिडको कठिन अवस्थामा अवार्ड कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले साग खेलकुदमा खेलाडीले प्राप्त गरेको गौरवमय उपलब्धिलाई सम्मान गर्नसमेत अवार्ड कार्यक्रमसँग जोडिएको उल्लेख गरे।
घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुँदैछ। अवार्डका लागि यसअघि नै पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ। हरेक विधामा ५–५ जना मनोनयनमा परेका छन्। पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ छन्।
वर्षका पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन्। वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका हुन्।
त्यस्तै, वर्षका युवा खेलाडीको मनोनयनमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन्। यस्तै, वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।