काठमाडौं– प्रधानसेनापति ट्रफी २०७७ खेलकुद प्रतियोगिता बुधबारबाट सुरु भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरे।
माघ २ गतेसम्म सञ्चालन हुने खेलकुदमा नेपाली सेनाको पृतनाहरुको ८, मद्दती बाहिनीहरुको ५, विशेष फौज बाहिनीको १ र फुटबल खेलमा विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयको १ गरी जम्मा १५ वटा टिमहरुको सहभागीता रहेको छ। प्रतियोगितामा समावेश भएका एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदान र छाउनीस्थित जगदल गण तथा लगनखेलको सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा सञ्चालन हुनेछन्।
उद्घाटन कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकृतहरु, वहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट शुरु भएको प्रधान सेनापति ट्रफि नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुंगा सावित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।