काठमाडौं- सेयर बजारका विषयमा अनधिकृत रुपमा सामाजिक सञ्जालबाट हल्ला चलाउनेलाई नियमन गर्न ब्रोकर एसोसिएसन अफ नेपालले अनुरोध गरेको छ। पछिल्लो समय आफ्नो नामबाट भन्दा पनि काल्पनिक, परिचय नखुल्ने नाम, बेनामी, फर्जिनाम वा असम्बन्धित नामबाट सामाजिक संजालमा धितोपत्र बजारका विभिन्न निकाय पक्षका व्यक्तिहरुको दुरुपयोग भइरहेको एसोसिएसनले जनाएको छ।
धितोपत्र बजारसँग सम्बन्धित पदाधिकारी तथा व्यक्ति विशेषको नाम नै तोकेर अनावश्यक हल्ला फैलाउने‚ तर्साउने‚ गाली गलौज गर्ने तथा निक्कै निम्नस्तरको शब्द प्रयोग गर्ने र विभिन्न कम्पनीका बारेमा अनावश्यक हल्ला फैलाउने र आम लगानीकर्ताको लगानीको तथ्य र सूचनालाई गलत तरिकाले प्रकाशन र प्रशारण गरी सर्वसाधारण लगानीकर्तामा दिग्भ्रमति फैलाउने प्रवृत्ति निक्कै मौलाएको एसोशिएसनले उल्लेख गरेको छ।
यस्ता गैरकानुनी कार्यको निरुपरोण गर्न नेपाल सरकारले साइबर क्राइम ऐन २०६३को व्यवस्था भएकाले यस अनुसार कारबाही गर्न एसोशिएसनको सुझाव रहेको छ। सामाजिक संजालमा बेनामी‚ काल्पनिक वा फर्जी नामहरुबाट कुनै व्यक्ति वा संस्था नै तोकेर गरिने त्यस्ता कामहरु बन्द गरी सेयर बजारको गरिमा र संवेदनशीलतामा आच आउने कार्य बन्द गर्न यसका सबै पक्ष वा सरोकार निकायबीचको सुमधुर सम्बन्ध कायम राख्ने कार्यमा अगाडि बढ्न ब्रोकरहरुले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र अर्थमन्त्रालयलाई अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।