काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामालाई खेलाडीको विभिन्न समस्याबारे ध्यानाकषर्ण गराएको छ।
बुधबार युवा तथा खेलकुद मन्त्रालयमा खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वअध्यक्ष दीपक विष्टलगायतका टोलीले खेलकुदमन्त्री लामालाई खेलाडी सेवासुविधाको विषयमा ध्यानाकर्षण गराएको हो।
खेलाडी संघले ओलम्पियन, एयिसाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता रोकिएको र कार्यविधिमा कटौती नगरी छिटो उपलब्ध गराउन आग्रह गरेको छ।
खेलाडीको छाता संगठन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले अहिलेसम्म खेलाडीहरूले सरकारबाट सामाजिक सुरक्षा अनुभुति गर्न नपाएको भन्दै गुनासो गरेको थियो। विगत चार वर्षदेखि सरकारले ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको थियो।
तर चालु आर्थिक वर्षबाट भने खेलाडीको त्यो प्रोत्साहन भत्ता रोकिएको छ। गत वर्ष नेपालमा सम्पन्न १३ औं साग खेलकुदमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो। ५१ स्वर्ण पदक विजेताले अहिलेसम्म प्रोत्साहन भत्ता पाएका छैनन्। प्रोत्साहन भत्ताको सुनिश्चिता गर्नका लागि खेलाडी संघले खेलकुद मन्त्री लामा समक्ष माग राखेको छ।
नियुक्त हुँदै कार्यविधिको मस्यौदा तयार गर्न खेलकुदमन्त्री लामाले ७ सदस्यीय समिति गठन गरेका थिए। अघिल्लो आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता प्राप्त गर्दै आएका थिए।
खेलाडी संघले ध्यानाकर्षणः
१. ओलम्पियन, एयिसाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेतालाई प्राप्त गर्दै आएको र हाल रोकिएको प्रोत्साहन भत्ता कार्यविधिमा कटौती नहुने गरि यथासम्भव उपलब्ध गराइनुपर्ने।
२. सागका रजत तथा कास्य पदक विजेताका लागि पनि प्रोत्साहन भत्ताका विषयमा छलफल अघि बढाउनुपर्ने।
३. नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पहल लिनुपर्ने।
४. स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय टोली र प्रशिक्षण सुरु हुन बाँकी खेलको प्रशिक्षण सुरु गर्नका लागि वातावरण तयार गरिनुपर्ने।
५. देशको गौरव र प्रतिष्ठा बढाउन योगदान पुर्याउने खेलाडीहरुलाई कदर स्वरुप सम्बन्धित कार्यविधि अनुसार राष्ट्र प्रमुखको तर्फबाट प्रदान गरिने भुषणद्धारा विभूषित गर्न उचित ब्यवस्था गर्नुपर्ने।
६. खेलाडीहरुको भविष्य सुनिश्चित हुने नीति अवलम्बन गर्ने कुराहरु समय समयमा भए तापनि नीतिगत रुपमा नै कुनै पनि ठोस निर्णय तथा ब्यवस्था भएको पाइएन, जसले गर्दा खेलाडीहरुको भविष्य अझै अन्यौल अवस्थामै छ। त्यसकारण राष्ट्रको लागि पदक प्राप्त खेलाडीहरु त्था खेलाडीहरुको विषयगत योग्यता अनुसारको रोजगारी सिर्जना गर्नुपर्ने, जसले गर्दा नयाँ पिढीलाई हौसला प्रदान गर्नुका साथै खेलकुद नै जीवन्त ठानेर लागेका खेलाडीहरुका अनुभब राष्ट्रकै खेलकुद बिकासमा उपयोगी सिद्ध हुने यर्थाथ तर्फपनि ध्या कषण गर्न चाहन्छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।