काठमाडौं- महेन्द्रनगरको भलिबल प्रशिक्षण केन्द्रले तल्लो तहदेखि नै भलिबलको विकास गर्ने उद्देश्यले २४ खेलाडीलाई ‘ट्यालेन्ट हन्ट’बाट छानेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ४ सदस्यीय प्रतिनिधिले महेन्द्रनगर भलिबल प्रशिक्षण केन्द्रमा रहेका ६०-७० खेलाडीमध्ये २४ खेलाडी छनोट गरेको हो।
करिब ४ दिन लगाएर समान १२–१२ महिला पुरुष खेलाडी छानेको हो। प्रतिभावान खेलाडीलाई राष्ट्रिय टिममा ल्याउन र तल्लो तहदेखि दीर्घकालीन रूपमा अभ्यास गराउँदै क्षमतावान खेलाडी उत्पादन गर्न खेलाडीको खोजी गरिएको हो।
भलिबल प्रशिक्षक जगदीश भट्टले भलिबलका लागि उपयुक्त हुने उमेर, अग्लो र शारीरिक रुपमा अब्बल भएका खेलाडीलाई छनोट गरिएको जानकारी दिए। उनले भने, ‘मैले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई एउटा प्रस्ताव पठाएको थिए। कोरोना भाइरसले सबै खेलकुदको गतिविधि रोकिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरबाट ट्यालेन्ट हन्टको कार्यक्रम गरौं भन्ने हिसाबले गरिएको हो।’

राखेपले एकेडेमीमा छनोट भएका २४ खेलाडीलाई प्रतिखेलाडी ३ हजारको दरले मासिक रुपमा रकम उपलब्ध गराउने छ। अहिलेसम्म नेपालमा तल्लो तहदेखि नै प्रतिभाको खोजी गरी एकेडेमी सञ्चालन गरिएको छैन। पहिलो पटक नै १५ पुरुष १५ महिला खेलाडी राख्ने प्रस्ताव भएपनि राखेपले १२–१२ खेलाडी छनोट गरेको हो।
‘दैनिक रुपमा अब अभ्यास हुनेछ। टाढाका खेलाडीलाई यही बसोबासको व्यवस्था छ। तर यही नजिकै घर हुनेहरु जान्छन्। करिब १५–१६ जना यहीँ बस्छन्,’ प्रशिक्षक भट्ट थप्छन्, ‘ग्रास रुटमा पहिलो पटक खेलाडी छनोट गरी प्रशिक्षण दिन थालेका छौं। यसको लागि राखेपले प्रत्येक खेलाडीलाई मासिक ३ हजार दिने घोषणा गरेको छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।