काठमाडौं–ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत र कायममुकायम प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्ष २०७६/७७ मा २ करोड ८२ लाख रुपैयाँ बुझेका छन्।
यो तलब जनता बैंक मर्जर भएर आउनु अगाडि तत्कालीन कायममुकाय कार्यकारी अधिकृत महेशप्रसाद ढकाल र मर्जरपछिका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले बुझेका हुन्। ग्लोबल आइएमई बैंकले २०७६ मंसिर २० गते जनता बैंकलाई प्राप्ति गरेको थियो। कुँवर जनता बैंकका प्रमुख कार्यकारी अधिकृत थिए।
बैंकका सिइओ तथा कामु सिइओले तलबबापत ९० लाख २७ हजार रुपैयाँ बुझेका छन्। त्यस्तै उनीहरुले भत्ताबापत ११ लाख ४ हजार रुपैयाँ प्राप्त गरे।
यसबाहेक उनीहरुले टेलिफोन खर्च, सवारी साधन मर्मत र इन्धन प्राप्त गर्छन्। बैंकले दुई अर्ब ४७ करोड रुपैयाँ कर्मचारीका लागि खर्च गरेको छ। यसमा कर्मचारीले प्राप्त गरेको बोनस पनि समावेश गरिएको छ। सञ्चालक समितिका सदस्यहरुले १३ लाख ६३ हजार रुपैयाँ भत्ता प्राप्त गरेका छन्। अध्यक्षलगायत सञ्चालक समितिका सदस्यहरुले बैंकका तर्फबाट अन्य कार्यक्रममा सहभागी हुँदा ४५ लाख ४९ हजार रुपैंयाँ खर्च भएको छ। लेखापरीक्षकको पारिश्रमिकबापत २६ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ। सञ्चालक समितिका अध्यक्षले प्रति बैठक भत्ता १७ हजार रुपैयाँ र सदस्यहरुले १५ हजार रुपैयाँ प्राप्त गर्छन्।
बैंकले पुस २९ गते चौधौ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा सञ्चालक समितिले १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ। बैंकले सर्वसाधारण सेयरधनीका तर्फबाट तीन जना र संस्थापक सेयरधनीका तर्फबाट ३ जनाको निर्वाचन गर्ने भएको छ। बैंकले पुस १४ गतेसम्म कायम भएका सेयधनीहरुले साधारणसभामा भाग लिन पाउनुका साथै लाभांश पनि प्राप्त गर्ने छन्।
बैंकको हालको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयरवितरणपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।