काठमाडौं–प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गत आर्थिक वर्ष २०७६/७७ मा तलब भत्ता, कर्मचारी बोनस, दसैं तथा विदा भत्ताबापत तीन करोड ४२ लाख ३० हजार रुपैयाँ बुझेका छन्। शेरचनले तलब भत्ताबापत दुई करोड ५७ लाख रुपैयाँ बुझेका छन्। त्यस्तै नाफाबाट नियम अनुसार कर्मचारी बोनस बापत ४८ लाख ७० हजार रुपैयाँ प्राप्त गरेका छन्। शेरचनले दसैं तथा बिदा बापत ३५ लाख ६८ हजार रुपैयाँ भत्ता बुझेका छन्। बैंकका अन्य पदाधिकारीहरुले २ करोड ४० लाख रुपैयाँ प्राप्त गरेका छन्।
बैंकको गत आर्थिक वर्षको १९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार बैंकका कर्मचारीका लागि २ अर्ब १५ करोड रुपैयाँ बोनससहित खर्च भएको छ। कर्मचारीले गत आर्थिक वर्षको मुनाफबाट १९ करोड ७५ लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै संचालन खर्च एक अर्ब ४३ करोड रुपैयाँ रहेको छ।
सञ्चालक समितिले गत वर्ष बैठक भत्ता र पत्रपत्रिका तथा टेलिफोन खर्चबापत ३१ लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन्। सञ्चालक समितिको एउटा बैठकमा उपस्थित भएबापत अध्यक्षले १२ हजार रुपैयाँ र सञ्चालक सदस्यले १० हजार रुपैयाँ प्राप्त गर्छन्। यसबाहेक अध्यक्षले थप अन्य खर्चका लागि ११ हजार रुपैयाँ र सदस्यले १० हजार रुपैयाँ प्राप्त गर्छन्।
बैंकले पुस २६ गते १९ औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा सञ्चालक समितिले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव लैजाँदै छ। यस साधारणसभाले संस्थापक शेयरधनी समूहबाट तीन जना र सर्वसाधारण सेयरधनी समूहबाट तीन सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ।
बैंकले भर्चुअल माध्यमबाट साधारणसभा गर्दैछ। पुस ९ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनुका साथै बोनस सेयर प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।