काठमाडौं–बिमा कम्पनीहरुले २० हजार ७ सय ७५ जनालाई कोरोना बिमाको दाबी भुक्तानी गरेका छन्। बिमा समितिका अनुसार कम्पनीहरुले सोमबारसम्ममा २ अर्ब २ करोड रुपैयाँ भुक्तानी गरेका छन्।
कम्पनीहरुमा अहिलेसम्म ४१ हजार १४७ जनाले कोरोना बिमाको दाबीका लागि आवश्यक काजगपत्र बुझाएका छन्। तीमध्ये अझै २१ हजार जनाभन्दा धेरैले दाबी भुक्तानी पाउन बाँकी छ।
समितिका अनुसार तीन हजार ६७८ जनाको दाबी भुक्तानी अन्तिम चरणमा पुगेको छ। साथै ७ हजार २५४ जनाको रिपोर्ट परीक्षणका लागि पठाइएको छ। अहिलेसम्म दाबी भुक्तानीका लागि निवेदन दिनेमध्ये १६० जना संक्रमितले भने भुक्तानी नपाउने भएका छन्। उनीहरुको कागजपत्र कोरोना बिमा मापदण्ड अनुसार पुरा नभएकाले भुक्तानी नपाउने भएका हुन्। बीमितले पेश गरेको फाइल पुरा नभएकाले समितिले २५ सयवटा फाइल बिमा कम्पनीहरुलाई नै फिर्ता पठाएको छ।
अहिलेसम्मको दाबी भुक्तानी कोरोना बिमाको पुलबाट भइरहेको छ। साढे तीन अर्ब रुपैयाँभन्दा माथिको दाबी भुक्तानी भने नेपाल सरकारले बेहोर्ने छ। पाइपलाइनमा भएका बीमितको दाबी भुक्तानी हुँदा पनि नेपाल सरकारको भागमा एक अर्ब भन्दामाथि पर्नेछ। कोरोना संक्रमणदर अझै पनि बढिरहेकाले बिमा कम्पनीहरुलाई यसको थप दायित्व परिरहने देखिएको हो।
बिमा समितिको यो असफल बिमा योजनाले गर्दा २० वटा बिमा कम्पनीहरुको एक अर्ब तथा नेपाल पुनर्बिमा कम्पनीको एक अर्ब रुपैयाँ डुब्ने भएको हो। यसमा समितिको पनि एक अर्ब रुपैयाँ सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।