काठमाडौं- फिल्म ‘रेड वाइन’ले नाम परिवर्तन गरेको छ। फिल्मको नाम परिवर्तन गरी ‘तिम्रो मेरो साथ’ बनाइएको हो। समयको माग र दर्शकलाई ध्यानमा राख्दै नाम परिवर्तन गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने बताइएको छ। यसै चलचित्रबाट रमेश एम के पौडेलले निर्देशकको रुपमा डेब्यूसमेत गर्दैछन्।
चलचित्रमा पुष्प र साम्राज्ञीसँगै कार्यक्रम प्रस्तोता तथा कलाकार सन्दीप क्षेत्री, हास्य कलाकार खड्गबहादुर पुन (खबपु)लगायतको अभिनय रहनेछ।
चलचित्रको कथा तथा संवाद सविर श्रेष्ठको छ भने निर्माताका रुपमा पासाङ लामा, निरु भण्डारी, सुमन पौडेल र सुधीर पराजुली छन्।
नेपालसँगै अमेरिकामा छायांकन हुने बताइएको फिल्मलाई आर्यन फिल्म्स र बोधी एचडीको संयुक्त ब्यानरले निर्माण गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।