काठमाडौं–माघे संक्रान्तिको छेको पारेर नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनको तयारी गरिएको छ। करिब १० महिनापछि नेपाली फिल्म हलले नयाँ फिल्मको स्वाद चाख्नेछ।
यससँगै नयाँ कलाकारको अभिनय पनि यो फिल्ममा देख्न सकिनेछ। यही फिल्मबाट संयक दर्शनधारीसँगै करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि फिल्मी दुनियाँमा डेब्यु गर्दैछन्।
दीपेश सापकोटाले निर्देशन गरेको फिल्ममा प्रस्तुतकर्ता शिव श्रेष्ठ छन्। सामाजिक सञ्जालमा पोष्टर राख्दै प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई विके फिल्मस् र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्।
द्वन्द्वात्मक प्रेमकथा रहेको फिल्ममा शिव श्रेष्ठ र प्रियंका कार्कीसँगै आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धारा भुषाल, मिथिला शर्मा लगायतको अभिनय देख्न सकिन्छ ।
फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन्।
करिब ९ महिना बन्द नेपाली सिनेमा हल पुस १० गतेदेखि खुलेको हो। हल खुले पनि दर्शकको संख्या निकै न्युन छ। नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनको घोषणाले केही उत्साहजनक माहोल बनाउने अपेक्षा हलवालाले लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।