काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको जंगली महत्वाकांक्षाका कारण पार्टीमा विभाजनको संकट देखापरेको ओली पक्षका नेता ईश्वर पोखरेलले दाबी गरेका छन्। ओली पक्षको काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो दाबी प्रस्तुत गरेका हुन्। उनले पार्टीको रक्षा र एकताका लागि संकल्पबद्ध भएर अघि बढ्नुपर्ने बताए।
‘नेताहरुलाई मैले आक्षेप लगाउन खोजेको होइन,’ उनले भने, ‘हाम्रै पार्टीभित्रका केही नेताहरुको तरंगित मनस्थिति र जङ्गली महत्वाकांक्षाका कारण यो दुर्भाग्य निम्तेको हो।' पद प्राप्तीका लागि र पद प्राप्त नभएमा जस्तोसुकै कार्य गर्ने मानसिकता कारण पार्टीमा विभाजन आएको उनको टिप्पणी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकाले पार्टीमा विभाजन नआएको तर पार्टीका केही नेताहरूको पदलोलुपताका कारण चाहिँ विभाजन आएको उनको दावी थियो।
‘केही साथीहरुले असंवैधानिक कदम चालेको भनी मन दुखाउनु भएको छ,’ उनले भने, ‘घटनाहरु एक्लाएक्लै प्रकट हुँदैनन्। यो परिस्थिति आउनुको पछाडि हिजोका भ्रुणहरु कारक हुन्। यसको कारण नाङ्गो रुपमा पार्टी विभाजनको रुपमा आएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।