काठमाडौं- सभामुख अग्नि सापकोटालाई अनावश्यक विवादमा नल्याउन उनको सचिवालयले आग्रह गरेको छ। संसद् सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ताका विषय जोडी विवादमा ल्याउने प्रयास गरिएको भन्दै सचिवालयले यस्तो आग्रह गरेको हो।
पुस ५ गते ९० जना नेकपा सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर सो प्रस्ताव दर्ताका समयमा विवाद हुँदै आएको छ। अविश्वास प्रस्ताव दर्ता गराउने सांसदहरूले बिहान साढे १० बजे दर्ता भएको बताउँदै आएका छन् भने संसद् सचिवलायले साढे ३ बजे मात्र दर्ता भएको बताउँदै आएको छ।
सभामुख सापकोटाले उक्त अविश्वास प्रस्ताव दर्ता गर्नका लागि लिखित निर्देशन दिएको समेत सचिवालयले स्पष्ट पारेको छ। 'तथ्यहरुलाई एकातिर पन्छाएर सभामुखलाई विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु,' सभामुख सचिवालयका श्रीधर न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि पनि सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताएका थिए। प्रतिनिधिसभा विघटन भएपनि अर्को सभामुखको पद भने कायमै हुने व्यवस्था छ। सोही व्यवस्थाका कारण नयाँ मन्त्रीहरूको सपथ समारोहमा पनि सभामुख सापकोटा उपस्थित भएको बताइदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।