काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधि सभा विघटनले राजनीतिक उपलब्धिहरु संकटमा परेको बताएका छन्। शुक्रबार जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटनले जनमतको अपमान भएको बताएका हुन्।
‘पाँच वर्षको लागि गठन भएको संसदलाई बीचमै विघटन गरियो। जनताको मतादेशमाथि प्रहार भएको छ। र देश एकचोटी फेरि संकटमा परेको छ। गणतन्त्र, धर्म निरपेक्षता जस्ता उपलब्धिहरुहरु संकटमा परेको छ,' उनले भने।
ठाकुरले आफूहरु परिवर्तनकारी शक्ति भएको र परिवर्तनका लागि संघर्ष गर्दै आएको दाबी गरे। उनले ऐतिहासिक रुपमै देशमा जात, क्षेत्र, भाषा, श्रम आदिको आधारमा भेदभाव र विभेद हुँदै आएको र त्यसलाई हटाउन आफूहरुले संघर्ष गर्दै आएको बताए।
उनले संविधान नै त्रुटिपूर्ण बनेको बताए। राजनीतिक सहमतिको आधारमा संविधान सहमति भए पनि त्यसो नभएको बताए। ‘हामीले संशोधनको माग गर्यौं। तर पूर्ण रुपमा हुन सकेन। यो संविधान जबसम्म रहन्छ, तबसम्म विभेद त्यस्तै रहन्छ‘, उनले भने।
उनले अदालतको निर्णय मान्ने बताए। ‘विघटनको विषय अदालतमा गइसकेको अवस्था छ। उसको निर्णय मान्नुपर्ने हुन्छ। किनकि, राज्यमा कुनै न कुनै निकाय हुन्छ, जसको निर्णय मान्नुपर्ने हुन्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।