काठमाडौं- प्रतिनिधिसभा भंग गर्ने निर्णयलाई असंवैधानिक भनेको कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनाको माग भने संसदमा उठाएन। राष्ट्रियसभाको बैठकमा बोलेका कांग्रेस सांसद जितेन्द्र नारायण देवले प्रतिनिधिसभा विघटनको विरोध गरेपनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग भने नउठाएका हुन्।
‘प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो भन्दैमा देशलाई खाल्डोमा जाक्न मिल्दैन,’ उनले भने। विघटनलाई असंवैधानिक भएको बताएका देवले पुनर्बहालीको माग भने गरेनन्।
प्रतिनिधिसभा पुर्नबहालीको विपक्षमा पार्टी संस्थापन पक्ष केन्द्रीय समिति बैठकमा देखिएको छ। सडक प्रर्दशनमा पनि सभापति शेरबहादुर देउवापक्षीय नेताले सोहीअनुसारको अभिव्यक्ति दिने गरेका छन्।
शुक्रबारको राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने क्रममा संस्थापन निकट सांसद देवले पुर्नबहालीको शब्द नै उठाएनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘पार्टीभित्र कसैले काम गर्न दिएन। त्यो तपाईंको पार्टीको समस्या हो। देशको समस्या होइन। संसद्को समस्या होइन।’
संविधानमा नभएको व्यवस्था अनुसार प्रतिनिधिसभा विघटन गरेको उनले बताए। अल्पमतका परेपछि राजीनामा दिएर संसदीय दलको अर्को नेता बनाउन प्रधानमन्त्रीले सक्नपर्ने उनको धारणा थियो।
‘तपाईं पार्टीभित्र समस्यामा पर्ने तर संसद्लाई विघटन गर्ने? देशलाई खाल्डोमा जाकिदिने? दुनियाँमा देशभक्त, लोकतन्त्रवादी र अग्रमन चाहने र जनताको प्रतिनिधि हामी नै हौं भन्नेहरुले यस्तो काम गर्दैन,’ उनले भने।
शुक्रबारदेखि शुरु भएको राष्ट्रियसभाको पहिलो बैठकमा सबै दलका एक जना सांसदलाई बोल्न समय दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।