फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ओलीले आफू निकटका प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रबार सम्बोधन गर्दै नेकपाको पछिल्लो विवादको विषयमा लामो भाषण गरे। निर्वाचनमा आयोगमा अहिले चलिरहेको आधिकारिकताको विषयमा पनि उनले बोले। आफूहरु नै आधिकारिक भएको उनको दाबी थियो।
'आधिकारिक पार्टी हामी नै हौं,' उनको भनाइ थियो, 'सूर्य हाम्रै हुन्छ। हामी नै आधिकारिक हौं त कसको हुन्छ? सूर्य चिह्न २०४८ सालदेखि लिएको हो। कोही एकदुई जना मान्छेहरू अलग भए भन्दैमा सूर्य चिह्न उहिल्यैदेखि हामीले लिएको कतै जान्छ भन्ने विषय होइन। उहाँहरू (प्रचण्ड-नेपाल पक्ष)ले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ। निर्वाचन आयोगले हिजो (बिहीबार) उहाँहरूको निवेदन रीत नपुगेको र अनुचित भनेर रद्द गरेर फिर्ता पठाइदियो।'
निर्वाचन आयोगका अनुसार प्रधानमन्त्रीले फिर्ता पठाएको भन्ने सन्दर्भमा गरेको दाबी झुटो हो। आयोगले आफूहरुले त्यस्तो गर्न नमिल्ने बताएको छ।
'त्यो केही पनि होइन। भएको पनि छैन। आयोगले त्यस्तो गर्न पनि सक्दैन। निवेदन फिर्ता गर्ने अधिकार आयोगलाई छैन,' आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले नेपाल लाइभसँग भने।
नेकपा अनौपचारिक रुपमा विभाजित भएपछि दुवै पक्षले अहिले आफ्नो पक्ष नै आधिकारिक भएको र पार्टीको चुनाव चिह्नको रुपमा रहेको सूर्य पनि आफ्नै हुने दाबी गरिरहेका छन्। दुवै पक्षले आ-आफ्नो अनुकूल निर्णय गर्दै आयोगमा पेस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।