काठमाडौं- सर्वोच्च अदालत बार एसोसिएसनले संसद् विघटनसम्बन्धी रिटमा सुझाव दिन दुई वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको छ। सर्वोच्च बारले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्न एमिकस क्युरीका रूपमा दुई जना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको हो।
शुक्रबार सर्वोच्च बारले वरिष्ठ अधिवक्ताहरू खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यलाई एमिकस क्युरीमा पठाएको हो। अधिकारी सर्वोच्च बारका वर्तमान अध्यक्ष हुन् भने शाक्य नयाँ कार्यकालका लागि हालै निर्वाचित भएका हुन्।
संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले नेपाल बार एसोसिएसनसँग ३ जना र सर्वोच्च अदालत बार एसोसिएसनसँग २ जना एमिकस क्युरी माग गरेको थियो।
अदालतले कुनै महत्वपूर्ण विषयमा सुझाव लिनका लागि एमिकस क्युरी माग गर्ने प्रचलन छ। एमिकस क्युरीलाई अदालतको साथी पनि भन्ने गरिन्छ। एमिकस क्युरीले संविधान, कानुन र आफ्नो विवेकको आधारमा अदालतले खोजेको विषयमा राय दिनेछ।
नेपाल बार एसोसिएसनले एमिकस क्युरीको रुपमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको थियो।
संसद् विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेसी तोकेको छ र त्यसपछि निरन्तर सुनुवाइ गर्ने बताएको छ। १९ गतेसम्म सबै विपक्षीहरुको लिखित जवाफ पेस गर्न पनि भनेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले यसको अन्तिम किनारा गर्नका लागि निरन्तर सुनुवाई गर्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको थियो। सरकारले गरेको सिफारिस राष्ट्रपति भण्डारीले केही घन्टामा नै अनुमोदन गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।