फाइल तस्बिर
काठमाडौं- गृहमन्त्री रामबहादुर थापा 'बादल'ले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेतासमेत रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन्।
सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सकरारले अग्रगामी कदम चालेको उनको दाबी थियो।
‘ठूलो कदम सरकारले लियो मध्यावधि निर्वाचनमा जाने। संसदलाई विघटन गर्ने, यो संवैधानिक हो की असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो की अग्रगामी कदम हो भन्ने ठूलो बहस छ,' उनले भने, 'हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो। यो ठूलो राजनीतिक कदम हो। देशलाई फेरि स्थायित्व ल्याउनको निम्ति र फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नको निम्ति यो अपरिहार्य थियो।’
प्रतिनिधिसभा विघटन भएसँगै पार्टी भित्रको एउटा पक्ष संसद पुनर्स्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत उनको तर्क थियो। पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एक ढिक्का गरेर जवाफ दिनुपर्ने पनि उनले उल्लेख गरे। देशमा स्थिरता नचाहने पक्षले संसद पुनर्स्थापनाको माग गर्दै आन्दोलन गरिरहेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।