काठमाडौं- राष्ट्रियसभाको अर्को बैठक पुस २३ गते सम्मका लागि स्थगित भएको छ। राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार सुरु थियो।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले अर्को बैठक पुस २३ गते बस्ने जानकारी गराए।
शुक्रबारको बैठकमा बोल्ने नेताहरुले प्रतिनिधि सभा विघटन गरिएकोमा प्रधानमन्त्रीको आलोचना गरेका थिए।
राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा किन विघटन गर्नुपर्यो भन्दै प्रश्न गरे। बैठकमा बोल्दै उनले पार्टीको आन्तरिक अन्तरविरोधका कारणले जनताद्वारा निर्वाचित जनप्रतिनिधि संस्था प्रतिनिधि सभा सहिद हुन पुगेको र त्यो सुखद नभएको बताए।
'दलभित्रको अन्तरविरोधको असर जनप्रतिनिधिमूलक संस्थामा असर पर्नु त्यो त्यति राम्रो र सुखद छैन। प्रतिनिधि सभा किन विघटन हुनुपर्यो? उचित छ कि छैन? त्यो एउटा छलफल र बहसको विषय छ। अहिलेको सन्दर्भमा जे भयो त्यो राम्रो भएन', उनले भने।
उनले प्रतिनिधि सभामा बहुमतमा रहेको सत्तारुढ दलकै कारण प्रतिनिधि सभा विघटन भएको बताए। 'प्रतिपक्षको अर्घेल्याइँको कारण, असहयोगको कारण विघटन हुनुपरेको होइन। हाम्रै आन्तरिक कारण र किचलोले जनप्रतिनिधि मूलक संस्था विघटन भयो। यो दुखको कुरा हो। यो यथार्थ हो। जनताको सामु छ', उनले भने।
त्यस्तै, नेपाली कांग्रेसका नेता जितेन्द्र देवले प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो भन्दैमा देशलाई खाल्डोमा जाक्न नमिल्ने बताए।
शुक्रबारको राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै देवले भने- प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो। पार्टीभित्र कसैले काम गर्न दिएन। त्यो तपाईंको पार्टीको समस्या हो। देशको समस्या होइन। संसदको समस्या होइन।
प्रधानमन्त्रीले कि त पार्टीभित्र बहुमत कायम गर्न सक्नुपर्थ्यो, कि त अल्पमतका परेपछि राजीनामा दिएर संसदीय दलको अर्को नेता बनाउन सक्नुपर्थ्यो भन्दै देवले आलोचना गरे।
'तपाईं पार्टीभित्र समस्यामा पर्ने तर संसद्लाई विघटन गर्ने? देशलाई खाल्डोमा जाकिदिने? दुनियाँमा देशभक्त, लोकतन्त्रवादी र अग्रमन चाहने र जनताको प्रतिनिधि हामी नै हौं भन्नेहरुले यस्तो काम गर्दैन', उनले भने।
जनता समाजवादी दलकी नेता प्रमिला कुमारीले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई महेन्द्रको २०१७ सालको कदमकै पुनरावृत्ति भएको बताइन्।
'पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा जनताको सर्वोच्च प्रतिनिधि संस्था प्रतिनिधि सभा विघटन गरिएको छ। यस असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमप्रति हाम्रो दल जनता समाजवादी पार्टी घोर आपत्ति प्रकट गर्दछ', उनले भनिन्, 'प्रधानमन्त्रीले चाल्नुभएको यो कदम २०१७ साल पुस १ गते राजा महेन्द्र चालेको प्रतिगमनकारी कदमै पुनरावृत्ति हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।