काठमाडौं- प्रदेश २ मा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई प्रचण्ड-नेपाल पक्षका बहुमत सांसदले हटाएका छन्। प्रचण्ड-नेपाल पक्षले मण्डललाई हटाएर सत्रुघ्न यादवलाई दलको नेता बनाउने तयारी गरेका छन्। यसै विषयमा मण्डलसँग नेपाल लाइभले गरेको संक्षिप्त कुराकानी:
तपाईंलाई प्रचण्ड–नेपाल पक्षका बहुमत सांसदले दलको नेताबाट हटाएको विषयमा के भन्नुहुन्छ?
जब पार्टी नै फुटिसकेको छ भने यहाँ मात्रै एउटै रहन्छ र संसदीय दल? फेरि हाम्रो पार्टीले दलको नेता चयन गरिहाल्छ नि। बहुमत सांसदले आफ्नो तरिकाले गरे। त्यो गर्न दिनुस्। जब पार्टी नै फुट्यो, मन नै फुटिसकेपछि तल अरुको के रहन्छ? त्यो के ठूलो कुरा भयो र?
त्यसो भए दलको नेताबाट हटाएको विषयलाई स्वभाविकै रुपमा लिनुभएको छ?
मलाई हटाउनु र नहटाउनुको कुनै अर्थ छैन। नेकपाको दलको नेता जसलाई बनाएको थियो, त्यो नेता रहने भन्ने हुँदैन नि! नेकपा वैधानिक को बन्छ, त्यसपछि उहीँ नेकपा रहन्छ।
हामीले वैधानिकता पाए हामी नेकपा रहन्छौँ। नेकपा एकीकृत हुँदा प्रदेशसभामा ३२ सिट थियो। प्रमुख प्रतिपक्षमा थियौँ। एकाध पक्षले बहुमत देखायो एकाध पक्ष कम होला त्यसले के फरक पार्छ? त्यसले हाम्रो राजनीतिलाई केहीँ फरक पार्दैन।
यो प्रदेशमा ओली पक्ष कमजोर रहेछ है?
केपी ओली कमजोर मान्छे हो? हामीले कमजोर मान्छेलाई बोकेका छौँ। तपाईहरुकै हेर्ने दृष्टिकोण नै त्यस्तै छ। के अर्थमा ओली पक्ष कमजोर छ? पाप गर्ने अनेक कूकर्म गर्छन्। देशलाई बेच्न खोज्छन्। त्यस्ताहरु ठिक? हामीहरु बेठिक र कमजोर कसरी भयौँ? दुई नम्बर प्रदेशमा सिंगो नेकपा नै कमजोर छ।
कसरी केपी ओली पक्ष कमजोर छ? हामीले प्रदेशका विभिन्न क्षेत्रमा भेला गरेर देखाइसकेका छौँ। कतिपयलाई फकाइफुल्याई आफ्नो पक्षमा पारिएको छ। त्यसको के अर्थ हुन्छ र? त्यसले केही फरक पार्दैन।
ओली पक्षले कहिले दलको नेता चयन गर्छ?
हामी पनि दलको नेता चयन गर्छौँ। यस प्रदेशमा अहिलेसम्म प्रमुख प्रतिपक्ष दल थियौँ। नेपाली काग्रेस अब प्रमुख प्रतिपक्षी दल रहन्छ। अब हामीले आ–आफ्नो दलको नेता बनाउछौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।