काठमाडौं- जनता समाजवादी दलकी नेता प्रमिला कुमारीले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई महेन्द्रको २०१७ सालको कदमकै पुनरावृत्ति भएको बताएकी छिन्।
शुक्रबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटन गर्ने कदमको आलोचना गरिन्।
'पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा जनताको सर्वोच्च प्रतिनिधि संस्था प्रतिनिधि सभा विघटन गरिएको छ। यस असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमप्रति हाम्रो दल जनता समाजवादी पार्टी घोर आपत्ति प्रकट गर्दछ', उनले भनिन्, 'प्रधानमन्त्रीले चाल्नुभएको यो कदम २०१७ साल पुस १ गते राजा महेन्द्र चालेको प्रतिगमनकारी कदमै पुनरावृत्ति हो।'
उनले प्रतिनिधि सभा विघटनलाई सामान्य घटना नभएको बताइन्। 'यो संविधानमाथि कै कू हो', उनले भनिन्, 'प्रधानमन्त्रीलाई वर्तमान संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्नुभएको हो।'
उनले ओलीको कदम विरुद्ध आफ्नो पार्टीले चरणबद्ध आन्दोलन गरिरहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।