काठमाडौं- राष्ट्रिय सभामा नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा किन विघटन गर्नुपर्यो भन्दै प्रश्न गरेका छन्।
शुक्रबारको बैठकमा बोल्दै उनले पार्टीको आन्तरिक अन्तरविरोधका कारणले जनताद्वारा निर्वाचित जनप्रतिनिधि संस्था प्रतिनिधि सभा सहिद हुन पुगेको र त्यो सुखद नभएको बताए।
'दलभित्रको अन्तरविरोधको असर जनप्रतिनिधिमूलक संस्थामा असर पर्नु त्यो त्यति राम्रो र सुखद छैन। प्रतिनिधि सभा किन विघटन हुनुपर्यो? उचित छ कि छैन? त्यो एउटा छलफल र बहसको विषय छ। अहिलेको सन्दर्भमा जे भयो त्यो राम्रो भएन', उनले भने।
उनले प्रतिनिधि सभामा बहुमतमा रहेको सत्तारुढ दलकै कारण प्रतिनिधि सभा विघटन भएको बताए। 'प्रतिपक्षको अर्घेल्याइँको कारण, असहयोगको कारण विघटन हुनुपरेको होइन। हाम्रै आन्तरिक कारण र किचलोले जनप्रतिनिधि मूलक संस्था विघटन भयो। यो दुखको कुरा हो। यो यथार्थ हो। जनताको सामु छ', उनले भने।
शर्माले आफ्नो पार्टी विभाजन भएको बताएका छन्। उनले शर्माले पार्टी विभाजन भएको तर औपचारिक रुपमा विभाजन हुन मात्रै बाँकी रहेको बताए। 'हाम्रो पार्टी विभाजन भएको छ। औपचारिक रुपमा विभाजन नभए पनि विभाजनको संघारमा छ। पार्टी विभाजन भएको र प्रतिनिधि सभा नभएको यस घडीमा हामी राष्ट्रिय सभामा उपस्थित भएका छौं', उनले भने।
उनले पार्टी एकता हुँदा आफू अत्यन्तै खुसी भएको तर पार्टी विभाजनको संघारमा संघारमा आइपुग्दा आफ्नो मुटु चिरिएको र फुटेको अनुभूति भएको बताए। 'विगतको विभाजनमा मैले यति धेरै पीडा महसुस गरेको थिइनँ', उनले भने।
उनले आफूहरु विभाजित हुन गइरहे पनि अझै पनि एकताबद्ध हुने केही रसायनहरु छन् भने जोड्नका लागि आफूहरुको प्रयत्न हुने बताए। त्यसका लागि वामदेव गौतमलाई शुभकामना दिए।
'पार्टी विभाजन कुनै सिद्धान्त विचार र दर्शनको आधारमा हुन गइरहेको छैन। राजनीतिक कारणले मात्रै विभाजन हुन गइरहेको छ। यो दुखद् कुरा हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।